Butwal Today

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

७ भाद्र २०८३, आइतबार
अ+
अ-

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना बनाएको आइतबार जनाएको छ ।

हाङजाउमा मुख्यालय रहेको अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । कम्पनीका शेयरधारकहरूले भने उक्त लगानीबाट प्रतिफल प्राप्त हुने विषयमा चासो व्यक्त गर्दै आएका छन् ।

“कम्पनीको विश्वव्यापी एआई नेतृत्व विस्तार गर्न शेयर निष्कासन गर्न लागिएको हो”, अलिबाबाले विज्ञप्तिमा भनेको छ । कम्पनीका अनुसार शेयर निष्कासनबाट प्राप्त सम्पूर्ण रकम एआईसम्बन्धी पूर्वाधार विस्तार तथा आफ्नो ‘फुल–स्ट्याक एआई क्षमता’ विकासमा लगानी गरिनेछ ।

अलिबाबाले बिहीबार सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको राजस्व करिब २६९ अर्ब युआन (करिब ४० अर्ब अमेरिकी डलर) पुगेको छ । विश्वव्यापी रूपमा एआईसम्बन्धी प्रविधिको माग बढेसँगै कम्पनीका उत्पादनको मागमा समेत वृद्धि भएको जनाइएको छ ।

अलिबाबा आफ्नो खुला स्रोतको ‘क्वेन’ एआई मोडेलका लागि परिचित छ । उक्त मोडेल विश्वभरका विकासकर्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?