Butwal Today

सातै प्रदेशमा अटिजम बालबालिकाका लागि आवासीय विद्यालय खोल्ने

७ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमाडौं । सरकारले अटिजम भएका बालबालिकाका लागि नेपालका सातै प्रदेशमा छुट्टाछुट्टै आवासीय विद्यालय स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसका लागि सरकारले बजेटसमेत विनियोजन गरिसकेको जानकारी दिएका छन्।

धनगढीमा आयोजित अटिजम तथा न्यूरोडाइभर्सिटी भएका बालबालिकाका लागि शैक्षिक कार्यक्रमसम्बन्धी छलफलमा मन्त्री पोखरेलले प्रस्तावित विद्यालय सञ्चालनको मोडालिटीबारे छलफल भइरहेको बताए। उनका अनुसार सरकारले चालु वर्षमै विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। प्रस्तावित आवासीय विद्यालयमा शैक्षिक कार्यक्रमसँगै थेरापी, स्वास्थ्य सेवा तथा विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने योजना छ। विद्यार्थी र अभिभावकलाई आवश्यक शिक्षा, परामर्श तथा सहयोग उपलब्ध गराउने अवधारणामा सरकार अघि बढिरहेको मन्त्री पोखरेलले बताए।

सरकारले यसअघि नै प्रत्येक प्रदेशमा अटिजम लक्षित एउटा मोडल विद्यालय स्थापना गर्ने घोषणा गरिसकेको थियो। विद्यालय सञ्चालन, सेवा संरचना, स्वास्थ्य तथा हेरचाह र पूर्वाधारलगायत विषयको अध्ययन गर्न प्राविधिक समितिसमेत गठन गरिएको छ। मन्त्री पोखरेलले अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकले भोगिरहेका समस्यालाई सरकारले गम्भीर रूपमा लिएको बताए। आगामी शिक्षा ऐन, नीति तथा मापदण्डमा समेत अटिजमसम्बन्धी विषयलाई समेटेर काम गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ।

शिक्षा, थेरापी र हेरचाहलाई एउटै प्रणालीमार्फत उपलब्ध गराउने सरकारको योजनाले विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा पहुँच विस्तार हुनुका साथै उनीहरूको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?