Butwal Today

गरिमा चौधरीको न्याय र सम्झनामा बुटवलमा दीप प्रज्वलन

७ भाद्र २०८३, आइतबार
अ
अ+
अ-

बुटवल । बाराको जितपुरसिमरा–१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको मृत आत्मको शान्ति र न्यायका लागी बुटवलमा युवाहरुले दीप प्रज्वलन गरेका छन्।

गत साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी गरिमा पछि हत्या भएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गर्दै बुटवलस्थित पुष्पलाल पार्कमा दीप प्रज्वलन गरिएको हो। लुम्बिनी कानुन समाज र रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टारको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले गरिमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निष्पक्ष न्यायका लागि आवाज उठाएका थिए।

कार्यक्रममा बोल्दै लुम्बिनी कानुन समाजका अध्यक्ष विवश पाण्डेले अन्यायको अँध्यारोबाट न्यायको उज्यालोतर्फ अघि बढ्नुपर्ने बताए। उनले कुनै पनि घटनाको सत्यतथ्य बाहिर ल्याउँदै पीडितलाई न्याय र दोषीलाई कानुनअनुसार कारबाही गर्ने वातावरण निर्माण गर्न राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए।अध्यक्ष पाण्डेले न्याय प्राप्तिका लागि कानुनी प्रक्रिया र नागरिक दबाब दुवै महत्वपूर्ण रहेको भन्दै गरिमा चौधरीको घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरे।

त्यस्तै, रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टारका सचिव समिर पाण्डेले गरिमाको मृतआत्माप्रति सम्मान व्यक्त गर्दै परिवारलाई न्याय दिलाउन राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। घटनामा संलग्न जोसुकै भए पनि अनुसन्धानबाट दोषी देखिए कानुनको कठघरामा उभ्याउनुपर्ने उनको माग थियो।उनले दीप प्रज्वलन श्रद्धाञ्जलीमा मात्र सीमित नभई न्यायका लागि राज्यलाई सांकेतिक दबाबसमेत भएको बताए। “पीडितले न्याय पाउनुपर्छ र दोषीले उन्मुक्ति पाउनु हुँदैन भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो,” उनले भने।

कार्यक्रममा सहभागी युवा बिध्यार्थीहरुले गरिमा चौधरीको न्यायको पक्षमा नागरिक तहबाट आवाज निरन्तर उठाइरहने प्रतिबद्धता जनाउँदै घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष अनुसन्धान गर्न राज्यका सम्बन्धित निकायसँग आग्रह गरेका छन्।दीप प्रज्वलनमार्फत सहभागीहरूले “अँध्यारो अन्यायबाट उज्यालो न्यायतर्फ” अघि बढ्नुपर्ने सन्देश दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?