Butwal Today

अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स आवेदन खुला

६ भाद्र २०८३, शनिबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीमा वन्यजन्तुको सिकार गर्न इच्छुक नागरिकका लागि सिकार अनुज्ञापत्र लिन आवेदन खुला गरिएको छ। डिभिजन वन कार्यालयले सूचना जारी गर्दै आवश्यक कागजातसहित भदौ १० गतेभित्र आवेदन दिन आह्वान गरेको हो।

कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार राते मृग, चित्तल र बँदेलको सिकारका लागि कानुनी प्रक्रिया पूरा गरी जिल्ला सिकार अनुज्ञापत्र लिन सकिनेछ। इच्छुक नेपाली नागरिकले निर्धारित ढाँचामा निवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र तथा प्रचलित कानुनले तोकेका अन्य आवश्यक कागजात पेश गर्नुपर्नेछ।

वन्यजन्तुबाट हुने तथा भइसकेको कृषि बाली र मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० तथा प्रचलित कानुनअनुसार सिकार अनुज्ञापत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ। खड्काका अनुसार वन्यजन्तु संरक्षणका दृष्टिले संवेदनशील मानिने सिकार गतिविधिलाई कानुनी दायरामा राख्दै व्यवस्थित र नियमन गर्न अनुज्ञापत्रको व्यवस्था गरिएको हो। अनुमति नलिई वन्यजन्तुको सिकार गर्नु गैरकानुनी हुने भएकाले सम्बन्धित निकायबाट अनुमति लिएर मात्रै सिकार गर्नुपर्ने उनले बताए।

अर्घाखाँचीमा वन क्षेत्र आसपासका बस्तीमा वन्यजन्तुले कृषि बालीमा क्षति पुर्‍याउने, पशुचौपायामाथि आक्रमण गर्ने तथा कहिलेकाहीँ मानवीय जोखिमसमेत निम्त्याउने समस्या रहँदै आएको छ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँगै वन्यजन्तु संरक्षणलाई पनि प्राथमिकतामा राखेर कानुनले तोकेको सीमाभित्र सिकार तथा वन्यजन्तु व्यवस्थापनका गतिविधि सञ्चालन गरिने खड्काले बताए।

डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईका अनुसार प्राप्त निवेदन र कागजातको आवश्यक जाँचपछि मात्रै सम्बन्धित व्यक्तिलाई सिकार अनुज्ञापत्र प्रदान गरिनेछ। सिकारका नाममा वन्यजन्तुको अवैध ओसारपसार, चोरीनिकासी वा अन्य गैरकानुनी गतिविधि हुन नदिन वन कार्यालय र सम्बन्धित सुरक्षा निकायले निगरानीसमेत बढाउने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?