Butwal Today

सरयूको जल बोकेर नेपालगन्ज आए नानपाराका हजारौँ काँवड यात्री

बागेश्वरी र खडेश्वर जुँगे महादेवमा मैत्री जल चढाउँदै नेपाल–भारत धार्मिक सद्भावको सन्देश
५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

नेपालगञ्ज । भारतको उत्तरप्रदेशस्थित नानपारा तथा आसपासका क्षेत्रबाट करिब चार हजार काँवड यात्री नेपालगन्जको बागेश्वरी मन्दिरमा मैत्री जल चढाएका छन् ।

सरयू नदीको पवित्र जल बोकेर खाली खुट्टा पैदल नेपालगन्ज आएका उनीहरूले प्रसिद्ध शक्ति पीठ बागेश्वरी मन्दिर र खडेश्वर जुँगे महादेवमा जल चढाउँदै पूजा–आराधना गरेका हुन् ।

नवयुवक कावरिया संघ नानपारा, मिहिपुर्वा तथा आसपासका जिल्लाबाट शुक्रबार नेपालगन्ज आएका काँवड यात्रीहरूले नानपारास्थित शिवपुर तकिया र गाइघाटबाट सरयू नदीको पवित्र जल सङ्कलन गरी पैदल यात्रा सुरु गरेका थिए ।

लामो दूरी खाली खुट्टा हिँडेर नेपालगन्ज आइपुगेका उनीहरूले बागेश्वरी मन्दिरमा मैत्री जल चढाउँदै नेपाल–भारतबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने सन्देश दिएका छन् ।

काँवड यात्रीहरूले बागेश्वरी मन्दिरमा जल चढाउनुका साथै विशेष पूजा–आराधना गरेका थिए । त्यस क्रममा मन्दिर परिसरमा भजन–कीर्तन, मन्त्रोच्चारण तथा धुप–दीप प्रज्वलन गरिँदा वातावरण भक्तिमय बनेको थियो । उनीहरूले खडेश्वर जुँगे महादेवको पनि विशेष पूजा–अर्चना गरेका थिए ।

बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीका अनुसार भारतीय धार्मिक पर्यटक तथा काँवड यात्रीको स्वागतका लागि मन्दिर परिसरमा विशेष व्यवस्था मिलाइएको थियो । ठुलो सङ्ख्यामा आएका यात्रुका कारण हुने भीड व्यवस्थापनका लागि स्थानीय स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

काँवड यात्रीलाई फलफूल तथा भन्डाराको समेत व्यवस्था गरी स्वागत गरिएको महन्त योगीले बताए । उनका अनुसार जल गंगाजल लिइसकेपछि निराहार व्रत बसेका काँवड यात्रीहरूले बागेश्वरी मन्दिरमा जल चढाएपछि मात्र व्रत तोडेका थिए ।

“भोकै र खाली खुट्टा पैदल हिँडेर आएका काँवड यात्रीलाई फलफूल र भन्डाराको व्यवस्था गरी स्वागत तथा सम्मानपूर्वक बिदाइ गरेका छौँ,” महन्त योगीले भने । उनले काँवड यात्रा निकै कठिन धार्मिक यात्रा भएको बताए । लामो दूरी निराहार र खाली खुट्टा हिँडेर पूरा गर्नुपर्ने भएकाले यो यात्रा जोकोहीका लागि सहज नभएको उनको भनाइ छ ।

“यो यात्रा जोकोहीले गर्न सक्दैन । नानपाराबाट यात्रा सुरु गरि हिजो बेलुका रुपैडियाको हनुमानगढीमा बास बसेर आज नेपालगन्जसम्म पैदल आएका हुन्,” उनले भने । काँवड यात्राको नेतृत्व नवयुवक कावरिया संघ नानपाराका अध्यक्ष राधेश्याम र उपाध्यक्ष सन्दीपले गरेका थिए ।

सङ्घका अध्यक्ष राधेश्यामका अनुसार नेपाल–भारतबिचको धार्मिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले गत वर्षदेखि ठुलो सङ्ख्यामा काँवड यात्रा आयोजना गरिएको हो । उनले दुई देशका नागरिकबिच रहँदै आएको आपसी विश्वास, सद्भाव तथा धार्मिक सहिष्णुताको परम्परालाई यस्ता धार्मिक यात्राले थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

काँवड यात्रीको आगमनसँगै बागेश्वरी मन्दिर परिसरमा धार्मिक वातावरण थप उल्लासमय बनेको थियो । नेपालगन्जका स्थानीयवासी, धार्मिक अगुवा तथा विभिन्न सङ्घसंस्थाले पनि भारतीय तीर्थयात्रीको स्वागत गरेका थिए । मन्दिरको गुठी व्यवस्थापन समितिले यात्रुहरूलाई जल चढाउन, पूजा–आराधना गर्न तथा आराम गर्न सहज वातावरण बनाउन समन्वय गरेको थियो ।

यसअघि पनि भारतका विभिन्न स्थानबाट बागेश्वरी मन्दिरमा ठुलो सङ्ख्यामा धार्मिक पर्यटक तथा भक्तजन आउने गरेका छन् । विशेष गरी नेपालगन्जसँग सीमावर्ती भारतीय बजार नानपारा, रुपैडिहालगायत क्षेत्रसँग धार्मिक तथा सांस्कृतिक सम्बन्ध पुरानो रहेको स्थानीय धार्मिक अगुवाहरू बताउँछन् ।

यस पटक पनि नानपारा तथा आसपासका क्षेत्रबाट हजारौँ भक्तजनले लामो दूरी पैदल यात्रा गरी नेपालगन्ज आउनुले दुई देशबिचको धार्मिक सम्बन्धसँगै आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई समेत थप बलियो बनाएको स्थानीयको भनाइ छ ।

धार्मिक पर्यटनको दृष्टिले पनि यस्ता धार्मिक यात्राले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

भारतबाट आउने ठुलो सङ्ख्याका भक्तजनका कारण नेपालगन्जका होटल, यातायात, खाद्यान्न तथा अन्य व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने भएकाले धार्मिक पर्यटनलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके स्थानीय अर्थतन्त्रमा थप टेवा पुग्ने नाटा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिक्देलको भनाइ छ ।

बागेश्वरी मन्दिरको धार्मिक महत्वका कारण भारतका विभिन्न क्षेत्रबाट बर्सेनि हजारौँ भक्तजन नेपालगन्ज आउने गरेका छन् । नेपाल–भारतबिचको खुला सीमा केवल आवतजावतको माध्यम नभई सदियौँदेखि कायम रहेको सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धको सेतुका रूपमा समेत रहेको छ ।

देश फरक भए पनि एउटै श्रद्धा र आस्था जोड्ने साझा सेतु बन्न सक्ने र यस्ता यात्राले दुई देशका नागरिकबिचको मित्रता, धार्मिक सहिष्णुता तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन सक्ने सन्देश यस यात्राले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?