Butwal Today

कांग्रेसको विवाद संवादबाट समाधान गर्न महामन्त्री पौडेलको अपिल

५ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सबै पक्षलाई संवादमा आउन अपिल गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको आन्तरिक विवाद राजनीतिक संवादमार्फत समाधान गर्नुपर्ने बताएका हुन् ।

मुलुक चुनौतीपूर्ण अवस्थामा रहेका बेला कांग्रेस स्वयं सजग र सुदृढ हुन नसके देश ठूलो राजनीतिक विग्रहको भुमरीमा फस्ने जोखिम रहेको उनको भनाइ छ ।

पार्टीभित्रको असन्तुष्टि र विमतिलाई सडक तथा अदालतसम्म लैजानुभन्दा पार्टी कार्यालय सानेपामा बसेर संवाद गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

‘हाम्रो घरभित्रका विमतिलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन । मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरूपण गर्ने विषय होइन र हुनुहुँदैन,’ पौडेलले भनेका छन्, ‘राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ ।’

असन्तुष्ट नेता, कार्यकर्ता र शुभेच्छुकलाई फरक विचारसहित पार्टीको साझा मन्दिर सानेपा आउन पनि पौडेलले आग्रह गरेका छन् ।

‘सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु कि आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्,’ उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

विगतका कमजोरीमा सबैको सामूहिक जिम्मेवारी रहेको स्वीकार गर्दै पौडेलले संवादमार्फत अघि बढ्नुपर्नेमा जोड दिएका छन् । आसन्न १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी कार्यकर्ताले सुम्पिएको नेतृत्व स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

‘सानेपामा बसेर मनैदेखि संवाद गरौँ । विगतका कमजोरीमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौँ,’ उनले भनेका छन्, ‘आगामी १५औँ महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौँ र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौँ ।’

कांग्रेसभित्रको विभाजनले लोकतन्त्र र मुलुकलाई नै कमजोर बनाउने पौडेलले उल्लेख गरेका छन् ।

‘यस्तो बेला हामी विभिन्न बहानामा विभाजित हुनु भनेको लोकतन्त्र र देशलाई नै कमजोर बनाउनु हो । समयमै गल्ती सच्याएनौँ भने इतिहासले हामीलाई क्षमा दिने छैन,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?