© 2026
चन्द्रौटा । कपिलवस्तुको मायादेवी गाउँपालिका–२ गंगापुरकी शलोनी पाण्डेयका लागि सफलता सहज यात्राको परिणाम होइन ।
अवसरको खोजीमा दुई वर्ष बित्यो, निराशा र मानसिक तनाव खेप्नुप¥यो । तर, उनले प्रयास गर्न छाडिनन् । आज उनै शलोनी नेपाल विद्युत् प्राधिकरणको विद्युत् सुपरभाइजर पदमा सिफारिस भएकी छन् । ५८४ जना सफल उम्मेदवारमध्ये उनी देशभर आठौँ र लुम्बिनी प्रदेशमा सातौँ स्थानमा सिफारिस भएकी हुन् ।
तर उनको सफलताको कथा नतिजा सार्वजनिक भएको दिनबाट सुरु भएको होइन । त्यसको सुरुवात त त्यतिबेला भएको थियो, जतिबेला उनले लोकसेवाको तयारीका क्रममा पहिलो पटक ५० पूर्णाङ्कको नमुना परीक्षा दिँदा ०.६ अङ्क मात्र प्राप्त गरेकी थिइन् । त्यो नतिजाले उनलाई निकै निराश बनायो । उनी रोइन् । तर, त्यही असफलतालाई उनले आफ्नो यात्राको अन्त्य बन्न दिइनन् । २०६० चैत ५ गते बुबा सन्तोष पाण्डेय र आमा मञ्जु पाण्डेयको तेस्रो सन्तानका रूपमा जन्मिएकी शलोनीले बाल्यकालदेखि नै केही फरक गर्ने सपना देखेकी थिइन् । गाउँमा हुर्किए पनि उनको लक्ष्य ठुलो थियो ।
१२ कक्षा उत्तीर्ण गरेपछि काठमाडौँ गएर प्रवेश परीक्षाको तयारी गर्ने उनको योजना थियो । तर, त्यही समयमा दिदीको विवाहको तयारी र पारिवारिक आर्थिक अवस्थाका कारण योजना तत्काल पूरा हुन सकेन । उनले भारतका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पनि पाइन् । भारतीय दूतावासमार्फत आवेदन दिँदा दिल्ली टेक्नोलोजिकल युनिभर्सिटी, पन्जाब इन्जिनियरिङ कलेजलगायत संस्थामा इन्जिनियरिङ अध्ययनका लागि अवसर प्राप्त भयो । तर, चाहेजस्तो छात्रवृत्ति नपाउँदा ती अवसर उपयोग गर्न सकिनन् ।
छात्रवृत्तिका लागि उनी पटक–पटक काठमाडौँ पुगिन् । भारतीय दूतावास धाइन् । केही राजनीतिक व्यक्तिबाट समेत सहयोगको आश्वासन पाइन् । तर, प्रयास सफल भएन । यसरी उनको दुई वर्ष अवसरको खोजीमै बित्यो । समय बित्दै गएपछि उनी मानसिक रूपमा थाकिन् । त्यही बेला आमाबुबाको साथ उनको बलियो आधार बन्यो । आमाले उनलाई सम्झाउँदै भनेकी थिइन्, “हार नमान । केही न केही गर्दै गर, रोकिनु हुँदैन । रोकिएको पानी सडिहाल्छ, तर बगिरहेको पानी निर्मल हुन्छ ।”
त्यही भनाइले उनलाई फेरि अघि बढ्ने ऊर्जा दियो । त्यसपछि उनले एउटा विद्यालयमा शिक्षण सुरु गरिन् । लोकसेवा तयारीका क्रममा पहिलो नमुना परीक्षामा ५० पूर्णाङ्कमा ०.६ अङ्क आएपछि शलोनीले आफूलाई कमजोर ठान्नुभन्दा सुधार गर्ने निर्णय गरिन् । त्यसपछि निरन्तर अभ्यास गरिन् । क्रमशः उनका नमुना परीक्षाका नतिजा सुधारिँदै गए ।
करिब चार–पाँच महिनाको कठोर तयारीपछि उनले २०८२ जेठमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् सुपरभाइजर पदको परीक्षा दिइन् । परीक्षा दिएपछि नतिजा कुर्नुपर्ने भयो । लामो समय निष्क्रिय भएर बस्न उनलाई मन लागेन । घरबाट पैसा मागेर बसिरहनेभन्दा केही काम गर्दै आफूलाई व्यस्त राख्ने सोचले उनले एउटा आयुर्वेदिक फार्मेसीमा काम सुरु गरिन् ।
नयाँ काम सिक्न उनलाई धेरै समय लागेन । केही दिनमै विभिन्न आयुर्वेदिक औषधिबारे जानकारी लिन थालिन् र चिकित्सकको प्रेस्क्रिप्सनअनुसार औषधि दिने जिम्मेवारीसमेत सम्हालिन् । यसैबिच निर्वाचन प्रहरीको विज्ञापन खुल्यो । सानैदेखि प्रहरी सेवामा रुचि राख्ने शलोनीले परीक्षा दिइन् । छनोटका सबै चरण पार गर्दै उनी निर्वाचन प्रहरीमा नियुक्त भइन् ।
नियुक्ति अस्थायी भए पनि उनका लागि त्यो महत्त्वपूर्ण अनुभव बन्यो । नेपाल सरकारको सेवामा उनको त्यो पहिलो प्रवेश थियो । निर्वाचन प्रहरीका रूपमा काम गर्दा उनले अनुशासन, जिम्मेवारी र सेवाभाव सिक्ने अवसर पाइन् । उता, नेपाल विद्युत् प्राधिकरणको परीक्षाको नतिजा आउन बाँकी थियो । अन्ततः फागुनमा नतिजा सार्वजनिक भयो । उनी लिखित परीक्षामा उत्तीर्ण भइन् । निर्वाचन प्रहरीको सेवा सकिँदै गर्दा उनको अगाडि अर्को परीक्षा थियो–अन्तर्वार्ता । २०८३ वैशाखमा उनले काठमाडौँस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा अन्तर्वार्ता दिइन् ।
अन्तर्वार्ताको करिब एक महिनापछि राति शुभचिन्तकहरूबाट उनलाई बधाईका सन्देश आउन थाले । सुरुमा उनले कारण बुझिनन् । फेसबुक खोलेर आफ्नो नाम खोजिन् । नाम थियो–शलोनी पाण्डेय । लुम्बिनी प्रदेशबाट सातौँ र देशभरबाट आठौँ स्थानमा सिफारिस । ५८४ जना सफल उम्मेदवारमध्ये आफ्नो नाम देख्दा उनलाई केही क्षण विश्वास गर्न गाह्रो भयो । खुसीको खबर उनले सबैभन्दा पहिले बुबा र परिवारलाई सुनाइन् । परिवारमा खुसी छायो । उनका आँखाबाट खुसीका आँसु झरे ।
कुनै समय ५० पूर्णाङ्कमा ०.६ अङ्क ल्याएर सबैभन्दा तल रहेकी उनी त्यही प्रतिस्पर्धामा देशभरका सफल उम्मेदवारमध्ये आठौँ स्थानमा पुगेकी थिइन् । शलोनी आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित राख्न चाहन्नन् । आफ्नो यात्राबाट अहिलेका युवायुवती र साना भाइबहिनीले प्रेरणा लिन सकुन् भन्ने उनको चाहना छ ।
निर्वाचन प्रहरी वा म्यादी प्रहरीको रूपमा काम गर्नु असफलताको सङ्केत नभएको उनको धारणा छ । देशको सेवा गर्ने उद्देश्यले अस्थायी सेवामा जोडिने युवाको प्रयासलाई सम्मान गर्नुपर्ने उनी बताउँछिन् । “सबै म्यादी प्रहरी बाध्यताले मात्र हुँदैनन्, कतिपय रहरले पनि हुन्छन् । देशको सेवा गर्ने सपना बोकेर निर्वाचन प्रहरी, म्यादी प्रहरी वा अन्य सेवामा जोडिने युवाको प्रयासलाई असफलताको रूपमा हेर्नु हुँदैन,” उनी भन्छिन् ।
उनका लागि सफलताको सुरुवात सधैँ उत्कृष्ट अङ्कबाट हुँदैन । कहिलेकाहीँ ०.६ अङ्कबाट पनि यात्रा सुरु हुन सक्छ । “शून्यबाट सुरु गर्न डराउनु हुँदैन । हारबाट डराउनु हुँदैन । ढिलो हुनबाट डराउनु हुँदैन । बस्, रोकिनु हुँदैन,” उनी भन्छिन् । उनी फेरि आमाको त्यही भनाइ सम्झिन्छिन्–“रोकिएको पानी सडिहाल्छ, तर बगिरहेको पानी निर्मल हुन्छ ।”