Butwal Today

सोमबारदेखि देशभरका म्यानपावर बन्द, वैदेशिक रोजगारी ठप्प

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौं । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कार्यालय बन्द गर्ने घोषणा गरेको छ। संघले कार्यालय बन्दसँगै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया ठप्प पार्ने निर्णय गरेको हो। यससँगै नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया तथा श्रमिक उडानसमेत प्रभावित हुने भएका छन्।

संघका अनुसार यसअघि नै पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन र भिसा स्ट्याम्पिङको काम रोकिएको थियो। अब भने भिसा र श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानसमेत रोक्ने निर्णय गरिएको छ।mसंघका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार आइतबार राति १२ बजेसम्म प्रक्रिया पूरा गरी उडानको तयारीमा रहेका श्रमिकलाई पठाइनेछ। त्यसपछि भने प्रक्रिया पूरा भइसकेका श्रमिकको समेत उडान रोक्ने निर्णय गरिएको छ।

सोमबारदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका म्यानपावर कम्पनी तथा शाखा कार्यालय बन्द रहने संघले जनाएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी तथा प्रशासनिक कामसमेत प्रभावित हुने संघको भनाइ छ।श्रम मन्त्रालयको टोलीसँग शुक्रबार प्रारम्भिक छलफल भए पनि व्यवसायीका मागमा ठोस सहमति हुन नसकेको संघको दाबी छ। मन्त्रीस्तरमा वार्ता हुन नसकेको भन्दै व्यवसायीहरूले सरकारले आफूहरूका समस्या गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन्।

संघका महासचिव हीराबहादुर डाँगीले आन्दोलनलाई व्यवसायीको पेसागत अस्तित्व, अधिकार, सम्मान र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा व्याख्या गरेका छन्।माग सम्बोधन, ठोस निर्णय र त्यसको कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता नहुने संघले स्पष्ट पारेको छ। यद्यपि सरकारसँग वार्ता र संवादका लागि ढोका खुला राखिएको जनाएको छ। संघले आफ्नो निर्णयविपरीत लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन गर्ने म्यानपावर कम्पनीलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?