© 2026
बर्दिया । गाउँपालिकाको नाम नै बढैयातालबाट राखिएको छ । चारैतिर हरियाली, बिचमा कमलका फूलले सजिएको जलाशय, वर्षभरि पानी र सयौँ प्रजातिका चराचुरुङ्गीको आगमन ।
प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएको बढैयातालमा पर्यटन विकासको सम्भावना कम छैन । तर वर्षौँदेखि पर्याप्त संरक्षण र लगानीको अभावमा यो सम्भावना उपयोग हुन सकेको छैन ।
बढैयाताल गाउँपालिकाले तालको समग्र विकासका लागि एक अर्ब १६ करोड रुपियाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ । तर डीपीआर तयार भएको लामो समय बितिसक्दा पनि त्यसअनुसारको लगानी र काम सुरु हुन सकेको छैन । तालको संरक्षण, पर्यटन पूर्वाधार र स्थानीय रोजगारी सिर्जनाको ठुलो सम्भावना बोकेको क्षेत्र अहिले पनि सीमित सरसफाइ र सामान्य मर्मतको भरमा छ ।
अब भने बढैयातालको विकासमा नयाँ आशा पलाएको छ । आर्थिक वर्ष २०८३/८४ मा सङ्घीय सरकारले मध्यपश्चिम सहरी कोरिडोरअन्तर्गत ‘इको रिसोर्ट तथा सामुदायिक बसाइँसहित इको टुरिजम प्रवर्धनका लागि बढैयाताल पुनस्र्थापना तथा विकास’ शीर्षकमा पाँच करोड रुपियाँ विनियोजन गरेको छ ।
बर्दिया क्षेत्र नं. १ का सङ्घीय सांसद ठाकुरसिंह थारुको पहलमा बजेट विनियोजन भएको हो । रकम ठुलो विकास योजनाको तुलनामा पर्याप्त नभए पनि लामो समयदेखि अपेक्षित लगानी सुरु हुने आधार बनेको स्थानीयवासी बताउँछन् ।
बढैयाताल गाउँपालिका–५ मा रहेको बढैयाताल करिब १०९ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक जलाशय हो । वर्षभरि पानी रहने तालमा विभिन्न प्रजातिका माछा तथा जलचर पाइन्छन् । यहाँ करिब एक सय प्रजातिका चराचुरुङ्गी पाइने स्थानीयको भनाइ छ । जाडोयाममा साइबेरियालगायतका विभिन्न देशबाट बसाइँसराइ गरी आउने चराले तालको प्राकृतिक महत्व थप बढाएको छ ।
ताल वरपरको हरियाली, घाँसे मैदान, कमलका फूल र शान्त वातावरणले यसलाई पर्यटनका लागि आकर्षक बनाएको छ । तर संरक्षण र व्यवस्थापनको अभावमा तालको स्वरूप क्रमशः प्रभावित हुँदै गएको स्थानीयवासी बताउँछन् ।
बढैयाताल–५ का बरघर गोविन्दप्रसाद चौधरीका अनुसार तालमा जलकुम्भी र झारपात बढ्दै गएको छ । तालको संरक्षण, किनारा व्यवस्थापन र आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा यसको प्राकृतिक सौन्दर्यमा समेत असर परेको उनले बताए ।
स्थानीय पुर्खा मेहिलाल थारुका अनुसार जाडोमा आउने बसाइँसराइ गर्ने चराले ताललाई चरा अवलोकनका लागि आकर्षक बनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई समेत बढैयातालसम्म ल्याउन सके यस क्षेत्रको पर्यटनमा नयाँ सम्भावना खुल्ने उनको भनाइ छ ।
चरा विज्ञ राम शाहीका अनुसार बढैयाताललाई योजनाबद्ध रूपमा विकास गर्न सके लुम्बिनी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । तालमा चरा अवलोकनसँगै प्रकृतिमा रमाउन चाहने पर्यटक आकर्षित गर्न सकिने उनी बताउँछन् ।
पर्यटन विज्ञ उदयराज पौडेलका अनुसार तालमा डुङ्गा सयर, चराचुरुङ्गी अवलोकन, कमल उद्यान, साइकल ट्र्याक, पदमार्ग, विश्रामस्थल, दृश्यावलोकन टावर, बाल उद्यान र होमस्टेजस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।
“बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटकलाई बढैयातालसम्म जोड्न सकियो भने जिल्लामा पर्यटक बस्ने अवधि पनि बढाउन सकिन्छ,” उनले भने । ताल केन्द्रित पर्यटन विस्तार हुँदा होटल तथा होमस्टे, डुङ्गा सञ्चालन, स्थानीय कृषि उत्पादनको बिक्री र हस्तकलाको बजार विस्तार हुने सम्भावना छ । यसबाट स्थानीय युवाका लागि रोजगारी सिर्जना हुनुका साथै गाउँपालिकाको आन्तरिक आम्दानीसमेत बढ्न सक्ने अपेक्षा गरिएको छ ।
तालको विकासका लागि एक अर्ब १६ करोड रुपियाँ लागत अनुमानसहित डीपीआर तयार गरिएको भए पनि गाउँपालिकाले त्यसअनुसार लगानी गर्न सकेको छैन । स्थानीय सुरेश थारुका अनुसार विगतमा ताल संरक्षणका नाममा साना–साना सरसफाइ, मर्मत र बाँधमा सामान्य काम मात्र भएका छन् । स्थानीयले बाँध निर्माण, किनारा संरक्षण, पदमार्ग, पर्यटकीय पूर्वाधार र जल व्यवस्थापनको माग गर्दै आए पनि दीर्घकालीन योजना कार्यान्वयन हुन सकेन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारुका अनुसार विगतमा सङ्घीय सरकारबाट सीमित बजेट आएको भए पनि गाउँपालिकाले आफ्नै स्रोतबाट ठुलो लगानी गर्न सकेको छैन । चालु आर्थिक वर्षमा पनि सङ्घीय बजेटका रूपमा पाँच करोड रुपियाँ आएको छ ।
गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले तालको क्षेत्रफल ठुलो भएकाले सानो बजेटले उल्लेख्य परिवर्तन देखाउन कठिन हुने बताए । पालिकाको आन्तरिक स्रोत सीमित भएकाले तालमा पर्याप्त लगानी गर्न नसकिएको उनको भनाइ छ ।
“तालको विकास आवश्यक छ भन्ने हामीलाई थाहा छ । तर पालिकाको आफ्नै स्रोत र साधनले ठुलो लगानी गर्न सक्ने अवस्था छैन,” उनले भने ।
सङ्घीय सरकारबाट पाँच करोड रुपियाँ विनियोजन भएपछि अब मुख्य चुनौती बजेट कार्यान्वयनको रहेको स्थानीयवासीको भनाइ छ । स्थानीय दिलबहादुर केसीले बजेट समयमै र गुणस्तरीय रूपमा खर्च गर्न सके तालको पुरानो स्वरूप फर्काउन सहयोग पुग्ने बताए । तर १०९ बिघामा फैलिएको तालका लागि पाँच करोड रुपियाँ दीर्घकालीन संरक्षणका दृष्टिले पर्याप्त नभएको उनको भनाइ छ ।
“तालका लागि सानो–सानो बजेटभन्दा दीर्घकालीन रूपमा ठुलो लगानी आवश्यक छ । अहिले आएको बजेट सुरुवातका लागि महत्वपूर्ण भए पनि यत्तिले मात्र तालको रूप बदल्न सकिँदैन,” उनले भने । अध्यक्ष त्रिपाठीका अनुसार संघ वा प्रदेशबाट आउने बजेटको कार्यान्वयन स्थानीय तहसँगको समन्वयमा हुन सके प्रभावकारी परिणाम आउन सक्छ । विगतमा केन्द्रबाट आएको बजेट केन्द्रकै प्रक्रियाबाट ठेक्का लाग्ने भएकाले स्थानीय तहको भूमिका सीमित हुने गरेको उनको भनाइ छ ।
“संघ र प्रदेशबाट आउने योजनाको कार्यान्वयनमा स्थानीय तहलाई पनि जिम्मेवारी दिइयो भने स्थानीय आवश्यकता र प्राथमिकताअनुसार काम गर्न सहज हुन्छ,” उनले भने । तालको विकास गर्दा पर्यटन पूर्वाधार निर्माणसँगै यसको प्राकृतिक स्वरूप र जैविक विविधता जोगाउनुपर्ने विज्ञहरूको सुझाव छ ।
जलकुम्भी नियन्त्रण, पानीको प्राकृतिक स्रोत संरक्षण, अवैध रूपमा माछा मार्ने कार्य नियन्त्रण, प्रदूषण रोकथाम तथा चराचुरुङ्गीको बासस्थान संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ । ताल वरपरको विकास गर्दा कङ्क्रिटका संरचना बढाउनेभन्दा प्रकृतिमैत्री पदमार्ग, अवलोकनस्थल, सीमित डुङ्गा सञ्चालन, स्थानीय होमस्टे र समुदायमा आधारित पर्यटनलाई प्राथमिकता दिन सके संरक्षण र पर्यटनबीच सन्तुलन कायम गर्न सकिने पर्यटन विज्ञ पौडेल बताउँछन् ।
तालको संरक्षणमा स्थानीय समुदायलाई प्रत्यक्ष सहभागी गराउनुपर्ने पनि उनको सुझाव छ । समुदायलाई पर्यटनबाट आम्दानी हुने अवस्था सिर्जना गर्न सके ताल संरक्षणप्रति स्थानीयको अपनत्वसमेत बढ्ने उनी बताउँछन् । सङ्घीय सांसद ठाकुरसिंह थारुले चालु आर्थिक वर्षका लागि विनियोजित पाँच करोड रुपियाँलाई बढैयाताल विकासको सुरुवातका रूपमा लिनुपर्ने बताए । उनका अनुसार तालको आवश्यकता हेरेर आगामी वर्षमा पनि सङ्घीय सरकारबाट बजेटका लागि पहल गरिनेछ ।
“पाँच करोड रुपियाँ पर्याप्त होइन । यो पहिलो चरण हो । आगामी वर्ष पनि बजेट ल्याएर तालको विकासलाई निरन्तरता दिनेछौँ,” उनले भने । वर्षौँदेखि उपेक्षित बढैयातालको विकासमा पहिलो पटक तुलनात्मक रूपमा ठुलो बजेट आएको भए पनि त्यसले कस्तो परिणाम दिन्छ भन्ने कुरा कार्यान्वयनमा निर्भर हुनेछ ।
एक अर्ब १६ करोड रुपियाँको डीपीआर तयार भएर पनि वर्षौँसम्म लगानी हुन नसकेको अवस्थामा अब आएको पाँच करोडले तालको संरक्षण र पर्यटन विकासको आधार तयार गर्न सक्ने अवसर भने दिएको छ ।
बढैयाताल केवल गाउँपालिकाको नामसँग जोडिएको जलाशय होइन, यस क्षेत्रको प्राकृतिक पहिचान र स्थानीय अर्थतन्त्रसँग जोडिएको सम्पदा हो । योजनाबद्ध संरक्षण, पर्याप्त लगानी र संघ, प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी समन्वय हुन सके तालले पर्यटन, रोजगारी र स्थानीय आयआर्जनको नयाँ ढोका खोल्न सक्ने देखिन्छ ।