Butwal Today

जेनजी सहिद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

३० श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौं । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी ९दोस्रो संशोधन० कार्यविधि, २०८३’ जारी गर्दै जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई लक्षित गरी स्वरोजगार उद्यम कर्जा कार्यक्रम थप गरेको हो। संशोधित कार्यविधिअनुसार आन्दोलनका सहिद परिवार वा घाइतेलाई अधिकतम ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सकिनेछ।

को–को पर्छन् सहिद परिवारमा ?
कर्जा सुविधा लिन आन्दोलनका सहिद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। सहिद परिवारअन्तर्गत आन्दोलनका क्रममा सहिद भएका व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई समेटिएको छ।

सहुलियतपूर्ण कर्जा विभिन्न स्वरोजगार तथा उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सकिनेछ। कृषि तथा पशुपन्छी व्यवसाय , घरेलु तथा साना उद्योग ,सेवा व्यवसाय,सूचना प्रविधिमा आधारित व्यवसाय,पर्यटन व्यवसाय ,उद्योग ,स्टार्टअप उद्यम त्यस्तै, नेपाल सरकारले समय–समयमा तोक्ने अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसायमा समेत कर्जा प्रयोग गर्न सकिने व्यवस्था छ।

आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलतामार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले कर्जाको दायरा विस्तार गरेको जनाएको छ। नयाँ व्यवस्थाले प्रभावित परिवार तथा घाइतेलाई व्यवसाय सञ्चालन, रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक आत्मनिर्भरताका लागि सहयोग पुग्ने सरकारको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?