Butwal Today

दुई महिनामै टुट्यो धवलशम्शेर–दुर्गा प्रसाईं सहकार्य, छुट्टाछुट्टै पार्टी बनाउने तयारी

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । नयाँ राजनीतिक शक्ति निर्माणका लागि एक ठाउँमा आएका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच करिब दुई महिनामै सहकार्य टुट्ने अवस्थामा पुगेको छ। राणा पक्षले शुक्रबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताको तयारी गरेको छ भने प्रसाईं पक्षले पनि छुट्टै राजनीतिक दल गठन गर्ने तयारी थालेको छ।

राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहने गरी ‘जय नेपाल पार्टी’ गठन गर्ने प्रारम्भिक सहमति भए पनि नेतृत्वको वरीयता, शक्ति बाँडफाँड र कार्यकारी अधिकारको विषयमा विवाद बढेपछि दुई पक्षबीच दूरी बढेको हो। प्रसाईंले पार्टीमा आफू पहिलो वरीयतामा रहनुपर्ने र कार्यकारी अधिकारमा समेत स्पष्ट भागीदारी हुनुपर्ने माग राखेको बताइएको छ। राणा पक्ष त्यसमा सहमत नभएपछि विवाद थप चर्किएको हो। प्रसाईंले एक अन्तर्वार्ताका क्रममा राणाको आलोचना गरेपछि सहमतिको सम्भावना झनै कमजोर बनेको बताइएको छ।

प्रसाईं पक्षका नेता माधव कल्पितले आफूहरू अझै एकताको पक्षमा रहेको दाबी गरे पनि राणा पक्षले तत्काल पार्टी दर्ता गर्ने निर्णय गरेपछि सहकार्य कठिन भएको बताए। उनका अनुसार अब प्रसाईंको नेतृत्वमा छुट्टै राजनीतिक पार्टी गठन हुनेछ। प्रसाईंले पनि सामाजिक सञ्जालमार्फत नयाँ पार्टी गठनको संकेत गर्दै पार्टी सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टी हुने बताएका छन्। यसअघि प्रस्तावित ‘जय नेपाल पार्टी’मा १०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी थियो। जसमा राणा र प्रसाईं पक्षबाट ४०–४० जना तथा दुवै पक्षमा नरहेका २० जना नेतालाई समेट्ने सहमति भएको बताइएको थियो।

यद्यपि, राणा पक्षले प्रसाईं समूहसँग संवाद पूर्ण रूपमा समाप्त नभएको जनाएको छ। राणाकी प्रेस संयोजक राधिका जोशीले संवाद जारी रहेको र प्रसाईं पक्ष तत्काल पार्टी दर्तामा सहभागी नभए पनि पछि जोडिन सक्ने बताएकी छन्। यससँगै एउटै राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले अघि बढेका राणा र प्रसाईं अब छुट्टाछुट्टै राजनीतिक दलमार्फत अघि बढ्ने सम्भावना बलियो बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?