© 2026
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवालाई पुनः सभापतिको रूपमा प्रस्तुत गर्दै ललितपुरको चुनदेवीस्थित सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखेको छ। पाँच महिनाको उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवालाई इतर समूहका नेता–कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरेका थिए। विमानस्थलबाट उनलाई सिधै चुनदेवीस्थित सम्पर्क कार्यालय लगिएको थियो।
त्यहाँ देउवाका लागि छुट्टै कार्यकक्ष तयार पारिएको छ। कार्यकक्षको बाहिर र चेम्बरभित्र उनको नामअघि ‘सभापति’ लेखिएको बोर्ड राखिएको छ। शुक्रबारदेखि सुरु हुने तीन दिने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा इतर समूहले यस्तो बोर्ड राखेको हो। भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मिन विश्वकर्माका अनुसार राष्ट्रिय भेलामा देउवाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। सोही कार्यालयमा भेला आयोजक समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको नाम उल्लेख गरिएको बोर्डसमेत राखिएको छ।
कांग्रेसभित्र नेतृत्वको वैधानिकतालाई लिएर विवाद कायम रहेका बेला इतर समूहले देउवालाई सभापतिको रूपमा प्रस्तुत गरेको हो। हाल निर्वाचन आयोग तथा अदालतबाट कानुनी मान्यता प्राप्त कांग्रेस सभापति गगनकुमार थापा हुन्। गत माघ १ गते सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा चयन भएका थिए।तर तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताले विशेष महाधिवेशनको निर्णयविरुद्ध दिएको पुनरावेदनमा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्न आदेश दिएपछि नेतृत्व विवाद थप पेचिलो बनेको छ।यही कानुनी विवादलाई आधार बनाउँदै संस्थापन इतर समूहले थापाको नेतृत्वलाई अस्वीकार गर्दै देउवालाई नै सभापतिको रूपमा प्रस्तुत गर्दै आएको छ।
तीन दिने राष्ट्रिय भेलामार्फत आफ्नो राजनीतिक धारणा सार्वजनिक गर्ने तयारीमा रहेको इतर समूहले देउवाको स्वागतदेखि कार्यालयमा ‘सभापति’को बोर्ड राख्नेसम्मका गतिविधिलाई नेतृत्व विवादसँग जोडेको देखिन्छ। यसले विशेष महाधिवेशनपछि कांग्रेसभित्र चर्किएको नेतृत्वसम्बन्धी विवाद अझै समाधान नभएको संकेत गरेको छ।