Butwal Today

स्वास्थ्य बीमामा १८७ प्रकारका औषधि घटाइए

२७ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची सरकारले परिमार्जन गरेको छ। नयाँ ‘सुविधा थैली’ लागू गर्दै स्वास्थ्य बीमा बोर्डले बीमामार्फत उपलब्ध हुने औषधिको संख्या १८७ प्रकारले घटाएको हो। नयाँ सूचीअनुसार अब स्वास्थ्य बीमा कार्यक्रमबाट १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन्। यसअघि बीमितले १ हजार २८९ प्रकारका औषधि पाउँदै आएका थिए।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार एउटै प्रकृतिका औषधिमा रहेको दोहोरोपन हटाउन, आधारभूत स्वास्थ्य सेवाअन्तर्गत सरकारले निःशुल्क उपलब्ध गराउने औषधिलाई छुट्याउन तथा नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिस भएका औषधि सूचीबाट हटाइएको हो।

सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउँदै आएका केही औषधि स्वास्थ्य बीमा सूचीमा समेत समावेश थिए। एउटै औषधिका लागि सरकारबाट निःशुल्क सेवा र स्वास्थ्य बीमाबाट भुक्तानी हुने दोहोरो व्यवस्था अन्त्य गरिएको बोर्डको भनाइ छ। बोर्डले नयाँ सुविधा थैली असार ३० गतेको बैठकबाट स्वीकृत गरेको थियो। नयाँ व्यवस्था साउन ५ गतेदेखि कार्यान्वयनमा आएको हो।

‘बीमितको उपचारमा ठूलो असर पर्दैन’

औषधिको संख्या घटाइए पनि बीमितले पाउने उपचार सुविधामा ठूलो असर नपर्ने बोर्डले दाबी गरेको छ। बोर्डका अनुसार सूचीबाट हटाइएका औषधिमध्ये केही प्रयोगमा नरहेका छन् भने केही एउटै प्रकृतिमा काम गर्ने औषधिको दोहोरोपनका कारण हटाइएका हुन्। आवश्यक अवस्थामा वैकल्पिक औषधिबाट उपचार व्यवस्थापन गर्न सकिने भएकाले सेवाग्राहीलाई प्रत्यक्ष असर नपर्ने बोर्डको भनाइ छ।तर, स्वास्थ्य बीमा कार्यक्रममा औषधिको सूची घटाइएपछि बीमितले पाउने सेवामा यसको वास्तविक प्रभाव कस्तो पर्छ भन्ने विषय आगामी दिनमा व्यवहारिक रूपमा देखिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?