Butwal Today

मापसे गर्ने चालकलाई अनिवार्य सचेतना कक्षा

२७ श्रावण २०८३, बुधबार
अ+
अ-

चन्द्रौटा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकलाई लक्षित गर्दै अनिवार्य साप्ताहिक सचेतना कक्षा सञ्चालन गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार साता भरि मापसेमा नियन्त्रणमा परेका सवारी चालकलाई प्रत्येक सोमबार सचेतना कक्षामा सहभागी गराइँदै आएको छ ।

कक्षामा मापसेका कारण हुने सवारी दुर्घटना, कानुनी कारबाही, चालकको जिम्मेवारी तथा सडक सुरक्षा सम्बन्धी विषयमा जानकारी दिइने गरेको छ । सचेतना कक्षाका लागि गोरुसिङ्गेस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई तोकिएको निरीक्षक ढकालले बताए । कार्यालयले जेठ २८ गतेदेखि नियमित रूपमा सचेतना कक्षा सञ्चालन गर्दै आएको जनाएको छ । हालसम्म दुई महिनाको अवधिमा १ सय ५६ जना सवारी चालक उक्त सेसनमा सहभागी भइसकेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा मापसे गरेर सवारी चलाउने ६४२ जना चालकमाथि कारबाही गरिएको थियो । सोही अवधिमा मापसेका कारण भएका ३० वटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए । चालु साउन महिनामा मात्रै मापसेसँग सम्बन्धित तीन वटा दुर्घटनामा छ जना घाइते भएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले मापसे नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरणका लागि कारबाहीसँगै सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको प्रहरी नायव निरीक्षक राजिव बिश्वकर्माले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?