Butwal Today

एमाले बागमती संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

२७ श्रावण २०८३, बुधबार
अ+
अ-

हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध १६ जना सांसदले लिखित हस्ताक्षरसहित बुधबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। प्रदेशसभा सचिवालय र संसदीय दलको कार्यालयमा दर्ता गरिएको प्रस्तावमा पूर्वमन्त्री किरण थापा मगरलाई संसदीय दलको नेताका रूपमा अघि सारिएको छ।

एमाले बागमती प्रदेश संसदीय दलमा हाल २५ सांसद छन्। प्रस्तावक पक्षले १६ जनाको लिखित हस्ताक्षरसहित थप २ सांसदको मौखिक समर्थन गरी १८ जनाको समर्थन रहेको दाबी गरेको छ। एमाले बागमती प्रदेश संसदीय दलको विधान, २०७९ को दफा २५ मा दलका नेताविरुद्ध अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था छ। विधानअनुसार दलका कुल सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्छन्। २५ सदस्यीय दलमा त्यसका लागि कम्तीमा ७ सांसदको समर्थन आवश्यक हुन्छ।

विधानमा अविश्वासको प्रस्ताव उपनेतालाई बुझाउनुपर्ने व्यवस्था भए पनि हाल बागमती प्रदेश संसदीय दलमा उपनेता नियुक्त नभएकाले प्रक्रियागत जटिलता देखिएको छ। बुधबारको प्रस्ताव संसदीय दलको कार्यालय सहयोगीमार्फत दर्ता गरिएको जनाइएको छ। विधानअनुसार अविश्वासको प्रस्तावको लिखित सूचना प्राप्त भएपछि उपनेताले १५ दिनभित्र बैठक बोलाउन मुख्य सचेतक वा प्रमुख सचेतकलाई निर्देशन दिनुपर्ने व्यवस्था छ। उपनेता नभएको अवस्थामा विधानको दफा २७ अनुसार बाधा अड्काउ फुकाउने तथा विधानको व्याख्या गर्ने अधिकार प्रयोग गरी प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ।

अविश्वासको प्रस्ताव पारित गर्न दलका सम्पूर्ण सदस्य संख्याको बहुमत आवश्यक हुन्छ। २५ सदस्यीय एमाले संसदीय दलमा बहुमतका लागि १३ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रस्तावक पक्षले भने १८ सांसदको समर्थन रहेको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?