© 2026
बुटवल । टाटा मोटर्सको पन्च विद्युतीय गाडीको नयाँ संस्करण बुटवलमा सार्वजनिक गरिएको छ । बुटवल उपमहानगरपालिका–१०, कालिकानगरस्थित कालिका चोकमा रहेको सफल अटो इन्टरनेसनलले एक कार्यक्रम आयोजना गरी पन्च विद्युतीय गाडीको नयाँ संस्करण सार्वजनिक तथा अनावरण गरेको हो । कार्यक्रममा सफल अटो इन्टरनेसनलका अध्यक्ष भवद्वोज ढुंगाना, कार्यकारी निर्देशक प्रदीप ढुंगाना तथा नाडा लुम्बिनीका महासचिव राम बेलबासेलगायतको उपस्थिति थियो । कार्यक्रममा नयाँ पन्च विद्युतीय गाडीका विशेषता, क्षमता तथा बजार सम्भावनाबारे जानकारी गराइएको थियो ।
टाटा मोटर्सले पन्च विद्युतीय गाडीलाई सहरी तथा ग्रामीण दुवै सडकमा सहज रूपमा सञ्चालन गर्न सकिने सानो आकारको खेलकुद उपयोगी गाडीका रूपमा बजारमा अघि सारेको छ । नयाँ संस्करणमा अघिल्लो मोडलको तुलनामा गाडीको उपयोगिता, यात्राको दूरी, ब्याट्री क्षमता तथा सामान राख्ने स्थानलाई थप प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । नयाँ पन्च विद्युतीय गाडीको प्रमुख विशेषतामध्ये बढी भू–उचाइ, ठूलो ब्याट्री र बढी सामान राख्ने स्थानलाई लिइएको छ । गाडीको ग्राउण्ड क्लियरेन्स करिब १९५ मिलिमिटर रहेकाले सामान्य सहरी सडकसँगै उकाली–ओराली तथा केही असहज सडकमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीको दाबी छ । विद्युतीय गाडीमा पर्याप्त भू–उचाइ हुनु नेपाली सडकका लागि उपयोगी मानिन्छ ।
त्यस्तै, नयाँ पन्च विद्युतीय गाडीमा प्रयोग गरिएको ठूलो क्षमताको ब्याट्रीले एकपटक पूर्ण रूपमा चार्ज गरेपछि ३२५ भन्दा बढी किलोमिटर रियल दूरी तय गर्न सक्ने बताइएको छ । यसले लामो दूरीमा विद्युतीय गाडी प्रयोग गर्न चाहने ग्राहकलाई समेत सहज हुने अपेक्षा गरिएको छ । यात्राको दूरीसँगै गाडीमा सामान राख्ने स्थान पनि विस्तार गरिएको छ । यसको सामान राख्ने पछाडिको भागमा करिब ३६६ लिटरसम्म सामान राख्न सकिने सुविधा रहेको बताइएको छ । टाटा मोटर्सले पन्च विद्युतीय गाडीलाई विद्युतीय सवारीको नयाँ पुस्ताको प्रविधिमा आधारित गाडीका रूपमा विकास गरेको हो । गाडीमा विद्युतीय सवारीका लागि विकसित विशेष संरचना प्रयोग गरिएको छ । यसको डिजाइन, सुरक्षा, ब्याट्री क्षमता र यात्राको दूरीलाई प्रमुख विशेषताका रूपमा अघि सारिएको छ ।
सफल अटो इन्टरनेसनलका अध्यक्ष भवद्वोज ढुंगानाले नयाँ पन्च विद्युतीय गाडीले ग्राहकको आवश्यकता र नेपाली सडकको अवस्थालाई ध्यानमा राखेको बताए । उनका अनुसार विद्युतीय सवारीको माग बढिरहेका बेला बढी दूरी तय गर्न सक्ने, पर्याप्त भू–उचाइ भएको र दैनिक प्रयोगका लागि सहज गाडी ग्राहकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।कार्यक्रममा नाडा लुम्बिनीका महासचिव राम बेलबासेले पनि नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुँदै गएको अवस्थामा नयाँ प्रविधि र नयाँ मोडलको प्रवेशले ग्राहकलाई छनोटको थप अवसर सिर्जना गर्ने बताए ।
नयाँ पन्च विद्युतीय गाडीको सार्वजनिकसँगै लुम्बिनी प्रदेशमा टाटाका विद्युतीय सवारीको बजार विस्तार गर्ने योजनासमेत अघि बढाइएको छ । कम्पनीले ग्राहकलाई बिक्रीसँगै मर्मत, सम्भार तथा आवश्यक प्राविधिक सेवासमेत उपलब्ध गराउने जनाएको छ । पञ्च इभीको ३२ लाख ९९ हजारदेखि ३७ लाख ९९ हजारससम्म कायम गरिएको छ । नयाँ पन्च ईभी ३० किलोवाट आवर र ४० किलोवाट आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । अघिल्लो संस्करणमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरको ब्याट्री उपलब्ध थियो। यसरी दुवै भेरिएन्टमा ५ किलोवाट आवरले ब्याट्री क्षमता वृद्धि गरिएको छ ।
नयाँ पन्च ईभीमा ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ। ६५ किलोवाटको डीसी फास्ट चार्जरबाट दुवै भेरिएन्टलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न करिब २६ मिनेट लाग्ने कम्पनीको दाबी छ । त्यस्तै, १५ मिनेटको डीसी फास्ट चार्जबाट ३० किलोवाट आवर भेरिएन्टमा करिब ११० किलोमिटर तथा ४० किलोवाट आवर भेरिएन्टमा १३५ किलोमिटरसम्म यात्रा गर्न पुग्ने ऊर्जा प्राप्त हुने बताइएको छ । ७.२ किलोवाटको एसी चार्जर प्रयोग गर्दा ३० किलोवाट आवर भेरिएन्टलाई १० प्रतिशतबाट १०० प्रतिशत चार्ज गर्न करिब साढे ४ घण्टा र ४० किलोवाट आवर भेरिएन्टलाई करिब ५.३ घण्टा लाग्ने कम्पनीको भनाइ छ । पन्च ईभीमा जडान गरिएको इलेक्ट्रिक मोटरले १५४ एनएम टर्क र १२९ एचपी पावर उत्पादन गर्छ । ब्याट्री क्षमता बढेसँगै ड्राइभिङ रेन्ज पनि बढेको कम्पनीको दाबी छ ।