© 2026
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित राखिनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा गत वर्ष भदौ २३ र २४ गते जलेका स्रेस्ताका कारण १७९ कार्यालयको महालेखापरीक्षकको कार्यालयले लेखा परीक्षण गर्न नसकेको विषयमा भएको छलफलका क्रममा उनले पहिले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित राख्नुपर्नेमा जोड दिए ।
सरकारी लगानी भएका अभिलेख सुरक्षित रहेको २०७२ सालको भूकम्पको बेलाको अनुभव सुनाउँदै उनले त्यसतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
गत वर्ष भदौ २३ र २४ गतेको काबुबाहिरको परिस्थितिका बेला राजस्व तथा कोष तथा लेखा नियन्त्रक कार्यालयअन्तर्गतका प्रणाली भने सुरक्षित रहेको जानकारी पनि मन्त्री वाग्लेले दिए ।
गत वर्ष काबुबाहिरको परिस्थितिका कारण सरकारी कार्यालय जल्दा करिब डेढ खर्ब रुपैयाँ बराबरका सरकारी स्रेस्ता जलेका कारण महालेखापरीक्षकको कार्यालयले ती कार्यालयको लेखा परीक्षण गर्न सकेको थिएन ।
समितिको आजको बैठकमा सोही विषयमा भएको छलफलमा मन्त्री वाग्लेले काबुबाहिरको परिस्थिति भएकाले त्यो दुर्घटनाको विषय भएको र त्यही कानुनी व्यवस्थाअनुसार यसको निरूपण गरिनुपर्ने बताए ।
समितिले स्थलगत अध्ययन गरेर ती कार्यालयले अनियमितता गरेको विषय बाहिर ल्याउन सक्ने उनले बताए । समितिको मार्गनिर्देशनअनुसार सरकारले काम गर्ने प्रतिबद्धता पनि मन्त्री वाग्लेले व्यक्त गरे ।
“यदि समितिलाई काबुबाहिरको परिस्थिति होइन भन्ने लाग्छ भने ऐन संशोधन गरौँ । समस्याको प्रकृतिका बारेमा सरकार र प्रतिपक्षका बीच कुनै फरक मत छैन,” उनले भने ।