Butwal Today

जिल्ला विपद्धारा र्‍याफ्ट बोट खरिद , कुपिण्डे तालमा परीक्षण

२५ श्रावण २०८३, सोमबार
अ+
अ-

सल्यान । बाढी, डुबान तथा अन्य जलमा हुने विपद्का बेला उद्धारमा प्रयोग गर्ने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले खरिद गरेको र्‍याफ्ट बोटको परीक्षण गरिएको छ । समितिले करिब पाँच लाख रुपैयाँमा खरिद गरेको र्‍याफ्ट बोट वनगाड कुपिण्डे नगरपालिका, ८ स्थित कुपिण्डे तालमा लगेर पानीमा सञ्चालनको परीक्षण गरिएको हो ।

विपद्का बेला तत्काल उद्धारमा खटिनुपर्ने सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा गरिएको परीक्षणका क्रममा बोट पानीमा सञ्चालन गरी यसको अवस्था र सञ्चालन क्षमता परीक्षण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद्का घटना भएपछि उद्धारका लागि आवश्यक सामग्री तथा उपकरण तत्काल उपलब्ध नहुने अवस्थालाई ध्यानमा राखेर बोट खरिद गरिएको समितिले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले बाढी तथा डुबानका बेला मानिसको उद्धारका लागि र्‍याफ्ट बोट उपयोगी हुने बताए । उनका अनुसार जिल्लाका नदी, ताल तथा जलाशयमा हुने विपद्का बेला तत्काल परिचालन गर्न सकिने गरी बोट तयार राख्ने उद्देश्यले परीक्षण गरिएको हो । ‘विपद्का बेला उद्धारका लागि आवश्यक पर्ने भएकाले र्‍याफ्ट बोट खरिद गरेका हौं,’ उनले भने, ‘यसको अवस्था र पानीमा सञ्चालन गर्न सकिने अवस्था कस्तो छ भनेर परीक्षण गरिएको हो ।’

सल्यानमा वर्षायाममा नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले बाढी र डुबानको जोखिम रहने गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने भेरी नदी आसपासका बस्ती तथा अन्य नदी र जलाशयमा पानीको सह बढ्दा स्थानीय बासिन्दा प्रभावित हुने गरेका छन् । सम्भावित त्यस्ता घटनामा उद्धारका लागि र्‍याफ्ट बोट उपयोगी हुने समितिको अपेक्षा छ । कुपिण्डे तालमा गरिएको परीक्षणपछि आवश्यकता परेका बेला जिल्लाका विभिन्न स्थानमा बोट परिचालन गर्न सकिने समितिले जनाएको छ ।

जिल्लामा मात्र नभई आसपासका क्षेत्रमा समेत ठूलो जलजन्य विपद् भएमा उद्धारका लागि बोट प्रयोग गर्न सकिने प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । आइतबार गरिएको परीक्षणमा जिल्लामा रहेका चारवटै सुरक्षा निकायका प्रतिनिधिको सहभागिता थियो । विपद्का बेला उद्धारमा प्रत्यक्ष रूपमा खटिने सुरक्षा निकायका जनशक्तिलाई बोट सञ्चालन तथा प्रयोगको अवस्थाबारे जानकारी गराउन पनि परीक्षण उपयोगी भएको समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?