Butwal Today

अर्घाखाँचीका पूर्वाधारमा बजेट माग

२५ श्रावण २०८३, सोमबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको समग्र विकास र नागरिकलाई सहज पूर्वाधारको पहुँच सुनिश्चित गर्न सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सङ्घीय सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समक्ष विभिन्न माग गरेका छन् ।

जिल्लामा निर्माणाधीन तथा योजनाका रूपमा रहेका सडक, बजार व्यवस्थापन र विमानस्थल निर्माणलाई गति दिन आवश्यक बजेट तथा व्यवस्थापन गर्न माग गर्दै नगरप्रमुख श्रेष्ठले भौतिक पूर्वाधार विकास मन्त्री लम्साललाई लिखित आग्रह गरेका हुन् ।

जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएका आयोजनाहरू लामो समयदेखि विभिन्न कारणले प्रभावित भइरहेका बेला नगरप्रमुख श्रेष्ठले ती आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्री लमसाल र पूर्वाधार विकास मन्त्रालयमा सचिव गोपाल प्रसाद सिग्देलको ध्यानाकर्षण गराए ।

उनले सन्धिखर्क बजार क्षेत्रको व्यवस्थापनदेखि रणनीतिक सडक आयोजना र अर्घा भगवती विमानस्थल निर्माणसम्मका विषयलाई समेटेर आवश्यक बजेट विनियोजन तथा व्यवस्थापन गर्न आग्रह गरे ।

नगरप्रमुख श्रेष्ठले सन्धिखर्क बजार क्षेत्रका सडकलाई व्यवस्थित र फराकिलो बनाउन विशेष योजनासहित बजेटको व्यवस्था गर्न माग गर्दै बजार क्षेत्रमा व्यवस्थित पार्किङको व्यवस्था नहुँदा सवारी आवागमनमा समस्या हुने तथा पैदल यात्रुलाई समेत कठिनाइ हुने गरेको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको उनको भनाइ छ ।

अर्घाखाँचीलाई तराई तथा महेन्द्र राजमार्गसँग जोड्ने महत्त्वपूर्ण सडकका रूपमा रहेको गोरुसिङ्गे–सन्धिखर्क सडक आयोजनाका लागि विनियोजित बजेट पर्याप्त नभएको नगरप्रमुख श्रेष्ठले राखेको मागमा उल्लेख छ ।

उक्त सडक योजनाका लागि करिब चार करोड रुपैयाँ बजेट प्राप्त भएको उल्लेख गर्दै उनले सडक स्तरोन्नति तथा सञ्चालनका लागि थप बजेट विनियोजन गर्न माग गरे । जिल्लाको यातायात, व्यापार तथा आर्थिक गतिविधिका लागि महत्त्वपूर्ण मानिएको उक्त सडकलाई गुणस्तरीय र भरपर्दो बनाउन पर्याप्त बजेट आवश्यक रहेको उनको जोड छ ।

जिल्लाको महत्त्वपूर्ण आयोजना सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा पर्याप्त बजेट नहुँदा द्रुत गतिका साथ काम अगाडी बढ्न नसकेकोले प्रयाप्त बजेटको माग छ । सडक निर्माणका क्रममा पर्ने घर तथा भवन हटाउनुपर्ने अवस्था रहेको भन्दै प्रभावित नागरिकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग छ । मुआब्जा तथा क्षतिपूर्तिको उचित व्यवस्था गरेर मात्रै सडक निर्माणलाई तीव्रता दिन सकिने भएकाले सरकारले आवश्यक रकमको व्यवस्था गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

भडार–हंसपुर–रतनमारे–सौतामारे मदन भण्डारी सडक खण्डमा सम्बन्धित ठेकेदारले काममा ढिलासुस्ती गरेका कारण ठेक्का रद्द भइसकेको उल्लेख गर्दै उनले उक्त खण्डलाई सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाअन्तर्गत नै समावेश गरी पुनः ठेक्का आह्वान गर्न मागमा उल्लेख छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकअन्तर्गत ढुंग्रेखोला–सालझण्डी सडक खण्डको समेत नयाँ ठेक्का प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ । अर्घाखाँची जिल्लाको सीमाना अन्तर्गत सालझण्डीतर्फको ठेक्का रद्द भइसकेकाले सो क्षेत्रमा नयाँ टेन्डर प्रक्रिया सुरु गरी निर्माणलाई निरन्तरता दिनुपर्ने मागमा उल्लेख छ ।

नगरप्रमुख श्रेष्ठले जिल्लाको दीर्घकालीन विकास र यातायात पहुँचसँग जोडिएको अर्घा भगवती विमानस्थल निर्माणलाई पनि प्राथमिकतामा राख्नुपर्ने, विमानस्थल निर्माणमा हालसम्म करिब ३० करोड रुपैयाँ खर्च भइसकेको भए पनि आयोजना अझै अधुरो रहेको भन्दै बाँकी पूर्वाधार निर्माण तथा धावनमार्ग (रनवे) निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरे ।

अर्घाखाँचीमा विमानस्थल सञ्चालनमा आएमा जिल्लाको पर्यटन, कृषि, व्यापार तथा आपत्कालीन यातायातमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैले निर्माण सुरु भएको लामो समयपछि पनि आयोजना अधुरो अवस्थामा रहन नदिन सङ्घीय सरकारले आवश्यक बजेट सुनिश्चित गर्नुपर्ने नगरप्रमुख श्रेष्ठको धारणा छ ।

नगरप्रमुख श्रेष्ठले जिल्लाका यी आयोजना केवल कुनै एक स्थानीय तह वा क्षेत्रका मात्र नभई समग्र अर्घाखाँचीको विकास र सर्वसाधारणको सहज पहुँचसँग जोडिएका महत्त्वपूर्ण पूर्वाधार भएको बताए ।

सडक र विमानस्थलजस्ता पूर्वाधार निर्माणले जिल्लाको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा प्रत्यक्ष योगदान पु¥याउने भएकाले प्राथमिकताका साथ बजेट विनियोजन र प्रभावकारी व्यवस्थापन गर्न उनले मन्त्री र सचिवलाई आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?