Butwal Today

पूर्वमेयर करण सिंहको घटनाक्रममा देखियो शंका

२४ श्रावण २०८३, आइतबार
अ+
अ-

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर करण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएपछि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान थालेको छ। शुक्रबार दिउँसो घरबाट निस्किएका ६५ वर्षीय सिंह आइतबार जंगलमा मृत अवस्थामा भेटिएका थिए। उनी आफैँले मोटरसाइकल चलाएर जंगलतर्फ गएको, त्यसपछि आफू बाटो बिराएर हराएको भन्दै करिब ३० जनालाई फोन गरेको र अन्तिम फोनपछि मोबाइल बन्द भएको घटनाक्रमले थप अनुसन्धान आवश्यक देखिएको प्रहरीले जनाएको छ।

यस्तो छ पूर्वमेयर करण सिंहको घटनाक्रम

शुक्रबार दिउँसो १ बजे ,सिंह लु१प ७८७९ नम्बरको एभेन्जर मोटरसाइकल लिएर घरबाट रिसोर्ट निर्माण गर्ने तयारी भइरहेको ढेकारीतर्फ निस्किएका थिए। तर उनी नियमित प्रयोग गर्ने बाटो छाडेर जंगलतर्फ गएको देखिएको छ।

दिउँसो १ः४९ बजे ,तिलौराकोट सामुदायिक जंगल नजिकैको सडकमा सिंह मोटरसाइकल चलाउँदै एक्लै जंगलतर्फ गएको दृश्य सीसीटीभीमा कैद भएको छ।

दिउँसो ३ः१५ बजे ,सिंहले सहयोगी सुनिल बिकलाई फोन गरी आफू रिसोर्ट जाने क्रममा बाटो बिराएर जंगलमा पुगेको भन्दै उद्धार गर्न आग्रह गरेका थिए। बिकले अन्य व्यक्तिलाई समेत खबर गरेर खोजी सुरु गरेका थिए।

साँझ ५ः२७ बजे ,सिंहले विभिन्न व्यक्तिलाई फोन गरेर आफू जंगलमा हराएको बताएका थिए। अनुसन्धानका क्रममा उनले करिब ३० जनालाई फोन गरेको खुलेको प्रहरी स्रोतको भनाइ छ। त्यसपछि उनको मोबाइल बन्द भएको थियो।

शनिबार ,नेपाल प्रहरी, सशस्त्र प्रहरी, आफन्त र स्थानीयवासीले दिनभर खोजी गरे पनि सिंह भेटिएनन्। उनको मोटरसाइकल भने जंगल नजिकैको खोल्सीमा फेला परेको थियो। आइतबार ,स्थानीयवासीले सामुदायिक जंगलभित्र सिंहको शव फेला पारे। उनको हेलमेट टाउकोबाट निकालेर नजिकै राखिएको अवस्थामा शव फेला परेको बताइएको छ।

सिंह हराएपछि प्रहरीले उनको घरमा समेत अनुसन्धान गरेको थियो। घरबाट विभिन्न व्यक्तिले जारी गरेका चेक, चेकबुक तथा आर्थिक लेनदेनसँग सम्बन्धित कागजात फेला परेको प्रहरीले जनाएको छ। सिंहले उच्च ब्याजदरमा रकम लगानी गरेको हुनसक्ने आरोपसमेत सार्वजनिक भएको छ। घरबाट भेटिएका कागजात र सम्बन्धित व्यक्तिसँगको प्रारम्भिक सोधपुछका आधारमा प्रहरीले मिटर ब्याज तथा आर्थिक लेनदेनको पाटोलाई समेत अनुसन्धानको दायरामा राखेको बताइएको छ। पूर्व मेयर करण सिंह सतहमा राजनीतिज्ञ देखिए पनि उनी मिटरबाजीसमेत रहेको आरोप लागेको छ । उनको घरमा फेला परेका लिखतहरूमा सयकडा ५ देखि सयकडा ७ अर्थात् वार्षिक ८४ प्रतिशतसम्मको मिटर ब्याज लिने गरी कागजात तयार भएको भेटिएको प्रहरीले अधिकृतले बताए ।

सिंह लामो समयदेखि सोही क्षेत्रसँग परिचित व्यक्ति भएकाले आफ्नै परिचित भूगोलमा बाटो बिराएको बताउनु, नियमित बाटो छाडेर जंगलतर्फ जानु र आफू हराएको भन्दै धेरै व्यक्तिलाई फोन गर्नुले घटनाबारे प्रश्न उठेको प्रहरी स्रोतको भनाइ छ।यद्यपि, घटनास्थलमा हत्या भएको स्पष्ट संकेत वा चिन्ह फेला नपरेको प्रहरीले जनाएको छ। शवको पोस्टमार्टम तथा थप अनुसन्धानपछि मृत्युको वास्तविक कारणबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ। प्रहरीले सिंहको मृत्यु स्वाभाविक दुर्घटना वा अन्य कुनै कारणबाट भएको हो भन्ने यकिन गर्न घटनास्थल, फोन सम्पर्क, सीसीटीभी, आर्थिक कारोबार र मृतकको पछिल्लो गतिविधिलाई समेत जोडेर अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?