Butwal Today

कतारमा गुञ्जियो नौमती बाजा, मौलिक संस्कृति संरक्षण गर्दै परियार समाज

२४ श्रावण २०८३, आइतबार
अ+
अ-

दोहा (कतार) ।

परियार मित्रता समाज, कतारले राष्ट्रिय नौमती बाजाको संरक्षण तथा प्रवर्द्धनसँगै नेपाली मौलिक कला, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

‘संस्कृति, सम्मान र पहिचान : राष्ट्रिय नौमती बाजा संरक्षण तथा प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित आयोजित कार्यक्रममा नौमती बाजाका मुख्य व्यक्तित्वलाई फेटा लगाई सम्मान गर्नुका साथै विधिपूर्वक बाजाको पूजा गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्ने अतिथिहरूले नौमती बाजा कुनै एक जाति वा समुदायको सांस्कृतिक सम्पत्ति मात्र नभई समग्र नेपाली मौलिक पहिचानसँग जोडिएको राष्ट्रिय सम्पदा भएको बताए । विदेशमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समाजले गरिरहेको प्रयास प्रशंसनीय रहेको उनीहरूको भनाइ थियो ।

समाजले विभिन्न समयमा आयोजना गरेका सांस्कृतिक तथा सामाजिक गतिविधिमा सहयोग गर्दै आएका संघसंस्था, कलाकार, समाजसेवी तथा सञ्चारकर्मीलाई कार्यक्रममा सम्मान गरिएको थियो । नौमती बाजाको प्रचार–प्रसार तथा विभिन्न सांस्कृतिक कार्यक्रममा बाजालाई प्राथमिकताका साथ समावेश गर्दै सहकार्य गर्ने संघसंस्थालाई पनि सम्मान गरिएको समाजले जनाएको छ ।

समाजका संरक्षक कृष्ण परियारले कार्यक्रममा राष्ट्रिय नौमती बाजाको इतिहासबारे संक्षिप्त जानकारी दिएका थिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका कलाकारहरूले पश्चिम नेपालमा प्रचलित सोरठी भाकामा नृत्य प्रस्तुत गरेका थिए । एक दर्जनभन्दा बढी कलाकारको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव मोहम्मद मुक्तदा मुसलमानले कतारमा रहँदाको अवधिमा आफूले अवलोकन गरेका जातीय संस्थाका कार्यक्रममध्ये यो कार्यक्रम उत्कृष्टमध्ये एक भएको बताए ।

उनले नौमती बाजाको संरक्षण तथा प्रवर्द्धनका लागि समाजले गरिरहेको प्रयासको प्रशंसा गर्दै यस्ता मौलिक तथा लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षणमा राज्यले पनि प्राथमिकता दिनुपर्ने बताए । नेपाली संस्कार, संस्कृति, भेषभूषा र मौलिक परम्परालाई विश्वसामु चिनाउन विदेशमा रहेका नेपालीसँगै सरकारले समेत चासो दिनुपर्ने उनको भनाइ थियो ।

‘नौमती बाजा संरक्षण र प्रवर्द्धनका लागि समाजले गरिरहेको काम प्रशंसनीय छ । यस्ता लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षणमा राज्यले पनि उत्तिकै प्राथमिकता दिनुपर्छ,’ उनले भने ।

समाजका अध्यक्ष सुमन नेपाल परियारले कार्यक्रम अपेक्षाभन्दा राम्रो र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने कार्यसमिति, संघसंस्था, कलाकार, सञ्चारकर्मी तथा सम्पूर्ण सहयोगीप्रति उनले आभार व्यक्त गरे ।

नौमती बाजा कुनै एक जाति वा समुदायले संरक्षण गर्दै आएको भए पनि यसको महत्व समग्र नेपाली पहिचानसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष परियारले यसको संरक्षण र प्रवर्द्धनका लागि राष्ट्रियस्तरबाटै पहल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीलाई थप मनोरञ्जन प्रदान गर्न भाग्यशाली चिठ्ठाको समेत व्यवस्था गरिएको थियो । चिठ्ठाको पहिलो पुरस्कार एचपी ब्रान्डको ल्यापटप गायिका गुना मगर ‘निशु’ले प्राप्त गरिन् । दोस्रो पुरस्कार ट्याबलेट, तेस्रो पुरस्कार स्मार्टफोन तथा पाँच जनालाई सान्त्वना पुरस्कारस्वरूप स्मार्ट घडी प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?