© 2026
बुटवल । कक्षा ११ पढ्दै गर्दा मोतीराज आचार्यले पढाइसँगै काम सिक्ने निर्णय गरे ।
पाल्पाको रिब्दीकोट–२ बाट बुटवल झरेका उनले भविष्यमा के गर्ने भन्ने स्पष्ट योजना बनाएका थिएनन् । तर एउटा कुरा भने निश्चित थियो–सीप सिकेर आफ्नै खुट्टामा उभिनुपर्छ ।
त्यही सोचले उनलाई बुटवल ल्यायो । सुरुमा उनले हेभी इक्वीपमेन्ट क्षेत्रमा हेल्परको काम थाले । त्यसपछि ड्राइभिङ सिके । पहिले लोडर चलाए, पछि जेसिबी चलाउन थाले । काम गर्दै जाँदा उनले हेभी इक्वीपमेन्टका मेसिनसँगै त्यसको प्राविधिक पक्ष पनि बुझ्दै गए ।
आज तिनै मोतीराज बुटवल–१३ जितगढीमा शिवशक्ति हेभी इक्वीपमेन्ट एण्ड कन्स्ट्रक्सन प्रालि सञ्चालन गरिरहेका छन् । नौ वर्षअघि सामान्य स्तरबाट सुरु गरेको व्यवसाय अहिले वार्षिक करिब एक करोड रुपियाँको कारोबार गर्ने अवस्थामा पुगेको छ ।
बुटवल आएको करिब १५ वर्ष भयो । कक्षा ११ पढ्दापढ्दै काम सिक्ने उद्देश्यले बुटवल झरेका आचार्यले सुरुमा मुक्तिनाथ क्रेसरमा हेल्परका रूपमा काम गरे । त्यसपछि सिर्जना सर्भिसेज कन्स्ट्रक्सनमा काम गरे ।
हेल्परको कामबाट सुरु भएको उनको यात्रा त्यतिमै रोकिएन । कामसँगै उनले लोडर र जेसिबी चलाउन सिके । ड्राइभिङ पेसामा लाग्दा पनि उनको मासिक आम्दानी करिब ५० हजार रुपियाँसम्म पुग्थ्यो । तर अरूको मेसिन चलाएर मात्र बसिरहनेभन्दा आफैँले केही गर्नुपर्छ भन्ने सोचले उनलाई व्यवसायीतर्फ डो¥यायो ।
“म हेल्परबाट सुरु गरेको हुँ । त्यसपछि ड्राइभर भएँ, मेसिन चलाएँ, मेकानिकको काम पनि सिकेँ र अहिले व्यवसाय सञ्चालन गरिरहेको छु,” आचार्य भन्छन्, “हेल्पर, ड्राइभर हुँदै मेकानिक र सञ्चालक बन्नु नै मेरो सबैभन्दा ठुलो उपलब्धि हो ।”
आचार्यले व्यवसाय सुरु गर्दा ठुलो पुँजी थिएन । आफ्नै जग्गा बिक्री गरेर जुटाएको रकम व्यवसायमा लगानी गरे । करिब २५ लाख रुपियाँबाट सुरु भएको व्यवसायमा अहिले उनको लगानी एक करोड रुपियाँ पुगेको छ ।
उनको व्यवसायबाट अहिले हेभी इक्वीपमेन्टसम्बन्धी विभिन्न सेवा उपलब्ध छन् । साइट सर्भिस, हेभी इक्वीपमेन्ट मर्मत, गियरबक्स तथा हाइड्रोलिक मर्मत, मोटर पाट्र्स बिक्री, मेसिन खरिद–बिक्री तथा भाडामा उपलब्ध गराउनेलगायतका काम व्यवसायले गर्दै आएको छ ।
आफूले लामो समय हेभी इक्वीपमेन्ट क्षेत्रमा काम गरेकाले व्यवसाय सञ्चालनमा अनुभव उपयोगी भएको उनको भनाइ छ । “मैले आफैँ मेसिन चलाएँ, बिग्रिँदा मर्मतको काम सिकेँ । त्यसैले व्यवसाय सुरु गर्दा बाहिरबाट हेरेको भरमा होइन, काम गरेर सिकेको अनुभवका आधारमा अगाडि बढ्न सजिलो भयो,” उनी भन्छन् ।
]सानो लगानीबाट सुरु भएको व्यवसायले अहिले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अपरेटर, मेकानिक र ड्राइभरसहित पाँच जनाले नियमित रूपमा काम गरिरहेका छन् ।
आचार्यका लागि व्यवसाय केवल आम्दानीको माध्यम मात्र होइन, आफूले सिकेको सीपलाई रोजगारीमा रूपान्तरण गर्ने अवसर पनि हो । आफूले काम सिकेर अगाडि बढेझैँ अन्य युवाले पनि सीप सिकेर आत्मनिर्भर बन्न सकून् भन्ने उनको चाहना छ ।
तर व्यवसाय सञ्चालन सहज भने छैन । उनका अनुसार सबैभन्दा ठुलो समस्या उधारोमा सामान तथा सेवा दिने र त्यसको रकम समयमा नउठ्नु हो । निर्माण क्षेत्रमा काम गर्दा उधारो कारोबार हुने भएकाले रकम असुलीमा समस्या आउने गरेको उनी बताउँछन् । दक्ष कामदारको अभाव पनि व्यवसायका लागि अर्को चुनौती बनेको छ ।
“काम गर्ने मानिस चाहिन्छ तर दक्ष जनशक्ति पाउन गाह्रो छ । भएको जनशक्तिलाई टिकाउन पनि चुनौती छ,” उनी भन्छन् ।
व्यवसायमा संघर्ष गरिरहेका बेला परिवारको साथले उनलाई थप सहज बनायो । २०७३ सालमा सुशीला खनालसँग विवाह गरेका आचार्य अहिले परिवारसहित बुटवल–१३ जितगढीमा बस्दै आएका छन् । श्रीमतीले घर व्यवहार सम्हाल्दै व्यवसायमा पनि साथ दिएकाले आफूलाई काममा केन्द्रित हुन सहज भएको उनी बताउँछन् ।
१० महिनाकी छोरी हुर्काउँदै घर व्यवहार सम्हाल्ने जिम्मेवारीका बिच श्रीमतीले दिएको साथलाई उनी आफ्नो सफलताको महत्त्वपूर्ण आधार मान्छन् ।
हेभी इक्वीपमेन्टसम्बन्धी व्यवसायमा अनुभव र बजारको आवश्यकता बुझेका आचार्य अब व्यवसायलाई थप विस्तार गर्ने योजनामा छन् । भविष्यमा मोटर पाट्र्सको थोक पसल सञ्चालन गर्ने उनको लक्ष्य छ । “अहिलेको व्यवसायलाई विस्तार गर्दै मोटर पाट्र्सको थोक व्यापार गर्ने योजना छ,” उनी भन्छन् ।
नौ वर्षअघि २५ लाख रुपियाँबाट सुरु गरेको व्यवसायलाई एक करोड रुपियाँको लगानी र वार्षिक एक करोडको कारोबारसम्म पु¥याउनु उनका लागि केवल आर्थिक सफलता होइन, लामो सङ्घर्षको परिणाम हो ।
पाल्पाको गाउँबाट बुटवल झरेर हेल्परको कामबाट आफ्नो यात्रा सुरु गरेका मोतीराज अहिले आफैँ व्यवसायी बनेका छन् । उनका लागि सफलता ठुलो पद वा ठुलो आम्दानी मात्र होइन, सीप सिक्दै कामको अनुभवलाई आफ्नै व्यवसायमा बदल्नु र अरूलाई समेत रोजगारी दिन सक्नु हो ।