Butwal Today

सरकार लक्ष्यबाट विमुख भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने

२४ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकार आफ्नो बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्दै पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग रहेको स्पष्ट पारे ।

सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको बताए । सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै उनले कहिलेकाहीँ प्राविधिक समस्या वा बाह्य कारणले उत्पन्न हुने ‘टर्बुलेन्स’ ९अवरोध० बाट नआत्तिन आग्रह गरे ।

लामिछानेले भने, “सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ । आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ । तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ । सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौँ ।”

उनले थपे, “यो यात्रामा कहिलेकाहीँ टर्बुलेन्स आउँछन् । बादलका टुक्राबीच जहाज हिँड्दा जहाज हल्लिन सक्छ । तर जहाज हल्लिँदैमा दुर्घटना हुन्छ कि भनेर डराउनुपर्दैन । त्यसैले ‘सिट ब्याक एन्ड रिल्याक्स’ । हामी असल नियत र सही दिशाका साथ यो यात्रालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउँछौँ ।”

उनले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही ढङ्गले गन्तव्यमा पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?