© 2026
गुल्मी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालल गुल्मी अस्पतालको ठेक्का रद्द गर्न निर्देशन दिएका छन् । दुई वर्षमा सक्नुपर्ने गुल्मी अस्पतालको भवन स्वच्छन्द–बानियाँ जेभीले पाँच वर्ष पुग्दासमेत सम्पन्न हुन नसकेपछि ठेक्का रद्द गर्न मन्त्री सुनिल लम्सालले निर्देशन दिएका हुन् । निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले स्थलगत अनुगमनपछि तत्काल ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिएका छन् ।
२०७८ असार १८ गते सम्झौता भएको भवन २०८० असार १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य थियो । पटक–पटक म्याद थप्दा पनि निर्माण पूरा हुन सकेको छैन । पाँच तले भवन निर्माणको लागत २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँ रहेको छ । ठेक्का रद्द गर्ने निर्देशन दिनुको कारणबारे मन्त्री लम्सालले निर्माणमा भएको ढिलाइलाई मुख्य कारण बताएका छन् । मन्त्रीको निर्देशनअनुसार ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढ्छ वा निर्माण कम्पनीलाई नै काम पूरा गर्न दिने बाटो रोजिन्छ भन्ने विषय चासोको बनेको छ । निर्माणाधीन भवनको भौतिक प्रगति ९२ प्रतिशतभन्दा केही बढी पुगेको बताइएको छ । करिब ६ करोड रुपैयाँ बराबरको काम अझै बाँकी रहेको छ ।
भवनमा अहिले पेन्टिङ, वायरिङ, आल्मुनियम जडानलगायतका काम भइरहेका छन् । परियोजनाका लागि भारत सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत आयोजना कार्यान्वयन इकाइ (भवन) मार्फत रकम उपलब्ध गराइएको हो । नयाँ भवन निर्माण सम्पन्न नहुँदा गुल्मी अस्पताल अझै पुरानै भवनबाट सेवा सञ्चालन गर्न बाध्य छ ।सीमित भौतिक संरचना, पर्याप्त वार्डको अभाव र सेवा विस्तारका लागि आवश्यक स्थान नहुँदा बिरामी तथा स्वास्थ्यकर्मी दुवैले समस्या भोग्दै आएका छन् । गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालका अनुसार जिल्लाका विभिन्न स्थानीय तहसँगै छिमेकी जिल्लाबाट समेत दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।
तर पुरानो भवन साँघुरो हुनुका साथै सीमित शय्या र आवश्यक सेवा सञ्चालनका लागि पर्याप्त स्थान नहुँदा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भइरहेको छ । नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालमा व्यवस्थित ओपीडी, आपत्कालीन सेवा, प्रसूति सेवा, शल्यक्रिया कक्ष, प्रयोगशाला, एक्स–रे तथा विशेषज्ञ उपचार सेवा विस्तार गर्ने योजना छ । थप शय्याको व्यवस्थासँगै आईसीयू, सर्जिकल, मेडिकल तथा बाल उपचारका लागि छुट्टाछुट्टै कक्षसमेत सञ्चालन गर्ने तयारी छ । तर भवन निर्माणमा भएको ढिलाइका कारण यी सेवा विस्तारका योजना पनि प्रभावित भएका छन् ।
अस्पताल विकास समिति अध्यक्ष राजेन्द्र पाण्डेले जिल्लावासीले लामो समयदेखि सुविधासम्पन्न अस्पताल भवनको प्रतीक्षा गरिरहेको भन्दै अब कुनै पनि हालतमा निर्माणमा थप ढिलाइ गर्न नहुने बताए । उनका अनुसार भवन निर्माणमा हुने ढिलाइले राज्यको ठूलो लगानी मात्रै रोकिएको छैन, नागरिकले समयमै पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवासमेत प्रभावित भएको छ । गुल्मी अस्पताल २०७१ सालमै ५० शय्यामा स्तरोन्नति भए पनि आवश्यक भौतिक पूर्वाधारको अभावमा त्यसअनुसार सेवा विस्तार पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।