© 2026
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतीमध्ये पत्नी तिलकुमारी पराजुलीको शव फेला परेको छ । ६७ वर्षीया तिलकुमारीको शव आज ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बलखुस्थित सुनकोशी नदी किनारमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।
मण्डनदेउपुर नगरपालिका–७ निवासी तिलकुमारी र उनका पति केदारनाथ पराजुली बुधबार साँझ भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बेपत्ता भएका थिए । उनीहरूले नदीमा हाम फालेको जानकारी पाएपछि सोही रातिदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले खोजी गरिरहेका थिए । तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित रहेको प्रहरीले जनाएको छ उनका पति केदारनाथको अवस्था भने अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।