© 2026
काठमाडौं। काठमाडौंमा आज ३२औँ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । आदिवासी जनजाति समुदायले आफ्नो पहिचान, भाषा, संस्कृति र अधिकार संरक्षणका लागि राज्यको ध्यानाकर्षण गराएका छन् । काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले मौलिक भेषभूषा, कला, संस्कृति र परम्परा झल्काउने झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका छन् ।
काठमाडौंको खुलामञ्च रङ्गीचङ्गी मौलिक पोशाक, परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित आदिवासी जनजाति समुदायको उल्लेख्य सहभागिता रहेको थियो । ३२औँ विश्व आदिवासी दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विभिन्न समुदायले आफ्ना मौलिक भाषा, संस्कृति, परम्परा र पहिचान प्रस्तुत समेत गरेका थिए ।आफ्नो पहिचान र संस्कृति संरक्षणसँगै राज्यका हरेक तहमा समान सहभागिता, अधिकारको सुनिश्चितता र समावेशी शासन प्रणालीको माग गर्दै आदिवासी जनजाति समुदायले दिवस मनाएका हुन् ।
आदिवासी जनजाति आयोगको अगुवाइमा काठमाडौंको खुलामञ्चमा विशेष समारोह आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी विभिन्न समुदायले आ–आफ्नो जातीय पहिचान झल्किने पोशाक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले आदिवासी जनजातिको मौलिक पहिचान र संस्कृति नेपालको महत्वपूर्ण सम्पत्तिका रूपमा हेरिन्छ ।
तर भाषा, संस्कृति, परम्परागत ज्ञान, भूमि तथा प्राकृतिक स्रोतसँग जोडिएका अधिकारको संरक्षण अझै चुनौतीपूर्ण रहेको आदिवासी जनजाति अगुवाहरूको भनाइ छ । विश्व आदिवासी दिवसलाई केवल सांस्कृतिक उत्सवमा सीमित नगरी अधिकार, समान सहभागिता र पहिचान संरक्षणको अभियानका रूपमा अघि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।