Butwal Today

सिकार खेल्दा गोली लागेर एकको मृत्यु, ६ जना पक्राउ

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

सल्यान । सल्यानमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कालीमाटी गाउँपालिका वडा नं ३ स्थित धरानी सामुदायिक वनमा सिकार खेल्ने क्रममा गोली लागेर कालीमाटी गाउँपालिका, २ बराहढुंगाका ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ करिब ६ः१५ बजे जङ्गलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो । गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुन मगर अन्य साथीहरूसँग सिकार खेल्न धरानी सामुदायिक वनमा गएका थिए । सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको र सोही क्रममा पुन मगरलाई गोली लागेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । गोली कसरी चलेको हो भन्ने विषयमा भने प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाको जानकारी शुक्रबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय कालिमाटीमा पुगेपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो । प्रहरीका अनुसार प्रहरी सहायक निरीक्षक मनोज सिंह बोहराको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेर सिकार खेल्न गएका ६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनास्थलबाट दुई नाल भरुवा बन्दुक समेत बरामद गरेको जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा घटनास्थलको प्राविधिक परीक्षणका लागि शुक्रबार राति करिब ११ः३० बजे इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमान्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा कालीमाटी गाउँपालिका, ३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, सोही स्थानका ४३ वर्षीय जुद्धबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी र कालीमाटी, २ बराहढुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगरलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय कालिमाटीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । भरुवा बन्दुकबाट गोली चलेर मानिसको मृत्यु भएपछि प्रहरीले बन्दुकको प्रयोग, गोली चलेको अवस्था र घटनामा संलग्न व्यक्तिहरूको भूमिका लगायत विषयमा अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?