© 2026
सिद्धार्थनगर ।
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (यूसीएमएस) ले बिरामीलाई थप प्रभावकारी रेडियोलोजिकल सेवा उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । कलेजको रेडियोलोजी विभागले २५ वर्ष पूरा गरेको अवसर पारेर शनिवारदेखि १ सय २८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यानसँगै एम्बुलेन्स सेवा पनि सुरु गरेको हो ।
मेडिकल कलेजका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले सिटी स्क्यान र एम्बुलेन्स सेवाको औपचारिक सुरुवात गरेको बताए । उनका अनुसार यसअघि सञ्चालनमा रहेको मेसिनको तुलनामा नयाँ उपकरण उच्च प्रविधियुक्त भएकाले बिरामीले कम समयमै गुणस्तरीय र भरपर्दो सेवा प्राप्त गर्ने जानकारी दिए ।
नयाँ सिटी स्क्यान मेसिन जडानका लागि कलेजले करिब साढे ५ करोड रुपैयाँ लगानी गरेको अस्पतालका जनसम्पर्क प्रमुख सुशील गुरुङले जानकारी दिए । सिटी स्क्यानसहित रेडियोलोजीका नयाँ सेवा चौबीसै घण्टा उपलब्ध हुने उनले बताए ।
सेवा विस्तारसँगै बिरामीले सहज र तुलनात्मक रूपमा सुलभ दरमा उपचारसम्बन्धी आवश्यक परीक्षण गराउन सक्ने कलेजले जनाएको छ ।
अत्याधुनिक प्रविधिसहितको उक्त मेसिनबाट मुटुको थ्रिडी इमेजिङसहित विभिन्न प्रकारका स्क्यान गर्न सकिने रेडियोलोजी विभाग प्रमुख प्राध्यापक डा। सदन मुखीले जानकारी दिए ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा डा. मुखीले नयाँ उपकरणमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि र अटो पोजिसनिङको सुविधा समेत रहेको बताए । यसले परीक्षण प्रक्रिया सहज बनाउनुका साथै रिपोर्टको गुणस्तर र विश्वसनीयता बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
२०५४ सालमा स्थापना भएको यूसीएमएसको रेडियोलोजी विभागमा हाल २७ जना जनशक्ति कार्यरत छन् । विभागमा एक जना प्राध्यापक, दुई जना सहप्राध्यापक, चार जना उपप्राध्यापक, १५ जना प्राविधिक, दुई जना नर्सिङ कर्मचारी र तीन जना सहयोगी कर्मचारी रहेका छन् ।