Butwal Today

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

कोसी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधरणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोसी र बागमती प्रदेशका पहाडी भागका धेरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मध्यमको वर्षा हुने सम्भावना छ । साथै, तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

कोसी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसै गरी, आज राति देशभर साधरणतया बदली रहने छ भने हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोसी, बागमती, गण्डकी,  लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना  छ । कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?