Butwal Today

१० वर्षदेखि घरमै सिक्रीमा बाँधिएका सरावलका ओमप्रकाशको उद्धार

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ फुलवरियाका ३५ वर्षीय ओमप्रकाश राजभरलाई करिब एक दशकपछि घरमै बाँधिएको सिक्रीबाट मुक्त गरी उपचार तथा संरक्षणका लागि मानव सेवा आश्रम लगिएको छ। भरत राजभरका छोरा ओमप्रकाश विगत १० वर्षदेखि हातखुट्टामा सिक्री बाँधिएको अवस्थामा घरमै बस्दै आएका थिए। मानसिक स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई नियन्त्रणमा राख्न सिक्री बाँधेर राख्ने गरेको थियो।

परिवारका अनुसार करिब १० वर्षअघि ओमप्रकाश रोजगारीका लागि विदेशमा रहेका बेला उनकी श्रीमतीले छोरीलाई जन्म दिएर अर्कैसँग विवाह गरी गएपछि उनी गहिरो तनावमा परेका थिए। विदेशबाट घर फर्किएपछि उनको मानसिक अवस्था क्रमशः बिग्रिँदै गएको परिवारको भनाइ छ।आर्थिक अवस्था कमजोर रहेका कारण परिवारले उनको आवश्यक उपचार तथा औषधि खर्च जुटाउन सकेन। घरको दैनिक गुजारा चलाउनसमेत वृद्ध बुवा भरत राजभरले मजदुरी गर्नुपर्ने अवस्था रहेकाले ओमप्रकाशको उपचार र उचित हेरचाह हुन नसकेको सरावल गाउँपालिका अध्यक्ष सुखाडी थारुले बताए।

उपचार तथा हेरचाहको अभावमा उनको अवस्था थप जटिल बन्दै गएपछि परिवारले वर्षौंदेखि उनलाई घरमै सिक्रीमा बाँधेर राखेको थियो। यसरी लामो समयसम्म घरभित्रै सीमित जीवन बिताउँदै आएका ओमप्रकाशको अवस्थाबारे सरावल गाउँपालिका–५ का वडा अध्यक्ष लक्ष्मण चौधरीमार्फत गाउँपालिका अध्यक्षलाई जानकारी पुगेपछि सामाजिक अगुवाहरूको पहलमा उद्धारको गरिएको हो। गाउँपालिकाको एम्बुलेन्समार्फत ओमप्रकाशलाई रुपन्देहीको तिलोत्तमास्थित मानव सेवा आश्रममा पुर्‍याइएको छ।

करिब १० वर्षसम्म घरभित्रै सिक्रीमा बाँधिएर जीवन बिताउन बाध्य ओमप्रकाशले अब मानव सेवा आश्रममा आवश्यक संरक्षण, हेरचाह र उपचार पाउने भएका छन्। आर्थिक अभावका कारण उपचारबाट वञ्चित रहेका उनको उचित उपचारपछि जीवन सामान्य अवस्थामा फर्किने परिवारको आशा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?