Butwal Today

चार महिनामै परिवर्तन खोज्नु हुँदैन : महामन्त्री आचार्य

२३ श्रावण २०८३, शनिबार
अ+
अ-

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले लामो समयदेखि थुप्रिएको बेथिति अन्त्य गर्दै दिगो परिवर्तनका लागि सरकारलाई समय र नागरिकको निरन्तर साथ आवश्यक रहेको बताएका छन् ।रास्वपा रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पदस्थापना, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा आचार्यले चार महिनामै सरकारको सम्पूर्ण कामको मूल्याङ्कन गर्नुभन्दा सुधारका प्रयासलाई निरन्तरता दिनुपर्ने बताए ।

“छत्तीस वर्षदेखि बिग्रिएको व्यवस्था चार महिनामै परिवर्तन हुन्छ भन्ने हुँदैन । छिटो परिणाम देखाउने नाममा गरिएको काम दिगो नहुन सक्छ । देश बलियो बनाउने आधार तयार गर्न समय लाग्छ,” उनले भने । उनले रास्वपा तथा सरकारका काममा कमजोरी देखिए खुलेर प्रश्न गर्न नागरिकलाई आग्रह गरे । नागरिकको प्रश्न र खबरदारीलाई सकारात्मक रूपमा लिने बताउँदै उनले त्यस्ता प्रश्नले पार्टीलाई थप जिम्मेवार र बलियो बनाउने बताए ।सरकारप्रति नागरिकले गरिरहेको खबरदारीलाई विरोधका रूपमा मात्र बुझ्न नहुने उनको भनाइ थियो । नागरिकको अपेक्षा धेरै भएकाले प्रश्न र आलोचना भइरहेको भन्दै आचार्यले सरकार सञ्चालनको प्रारम्भिक चरणमै सबै समस्या समाधान भइसक्ने अपेक्षा व्यावहारिक नभएको बताए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका आचार्यले विगतका सरकारका समयमा विभिन्न अनियमितता तथा काण्डसँग सम्बन्धित समाचार आउने गरेको दाबी गर्दै पछिल्लो चार महिनामा त्यस्तो अवस्था नरहेको बताए । केन्द्र सरकारले अघि बढाउन खोजेका कतिपय काममा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले ग्यास तथा मल वितरणलगायतका विषयमा समस्या सिर्जना गरिएको उल्लेख गरे । कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले बेथिति अन्त्य नगरेसम्म अपेक्षित परिवर्तन सम्भव नहुने बताए । आफूहरू सरकारको विरोध गर्न नभई नागरिकका समस्या सरकारसम्म पुर्‍याउन र आवश्यक ठाउँमा खबरदारी गर्न सक्रिय रहेको उनले स्पष्ट पारे ।

रास्वपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारसँग नागरिकको ठूलो अपेक्षा रहेको बताउँदै ती अपेक्षा पूरा गर्न सरकार र पार्टीले जनतासँग निरन्तर संवाद गर्नुपर्नेमा जोड दिइन् ।कार्यक्रममा रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य डा.लेखजङ्ग थापा, तौफिक अहमद खाँ, मञ्जु भुसाल, पुनम अग्रवाल, सुशान्त वैदिक लगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?