© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानमा समसामयिक विषय संशोधन हुनसक्ने भए पनि त्यस भित्रका संवेदनशीलता बुझ्नुपर्ने पर्नेमा जोड दिएका छन् ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै सभापति थापाले संविधान भित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधानमा नागरिकले प्राप्त गरेका हकअधिकार बढाउनुपर्नेमा जोड दिए ।
सभापति थापाले कांग्रेस मुलुकको राष्ट्रिय पार्टी र राष्ट्रिय शक्ति भएको बताउँदै मुलुकमा ठूला सङ्कट आउँदा समाधान गर्ने र लोकतान्त्रिक आन्दोलन तथा संविधान सभाबाट संविधान जारी गर्नेसम्मका कार्य कांग्रेसको नेतृत्व मै सफलता प्राप्त भएको बताए ।
सभापति थापाले भने, “लोकतन्त्रमा सरकार जति महत्वपूर्ण हुन्छ, प्रतिपक्ष पनि त्यति नै महत्त्वपूर्ण हुन्छ, प्रतिपक्षी दलका नाताले हामीले सरकारलाई निररन्तर खबरदारी गर्नुपर्छ ।” उनले लोकतन्त्रमा सबै नागरिक समान हुने र कानुन भन्दा माथि कोही पनि नहुदै बताए ।
कार्यक्रममा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आदिवासी जनजातिको पहिचानसँग गासिएका हकअधिकारको रक्षाका लागि सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिए । ठूलो बलिदानीले लडेर ल्याएको आदिवासी जनजातिको पहिचानसँग जोडिएका संविधानको उपलब्धी जोगाउन सचेत हुनुपर्ने बताए ।
नेता आङ्देम्बेले प्राप्त संवैधानिक अधिकार बचाएर लैजानुपर्ने र लोकप्रियताका नाममा यसलाई समाप्त पार्ने षड्यन्त्र हुनसक्ने उल्लेख गर्दै त्यस्ता प्रवृति तथा पात्रप्रति सचेत हुनुपर्ने उल्लेख गरे । नेता आङ्देम्बेले कांग्रेसले नै त्यो उपलब्धिलाई जोगाउन सक्ने विश्वास दिलाउँदै यी अधिकार पनि व्यवहारमा उतार्न पनि कांग्रेस नेतृत्वको आवश्यकता औँल्याए । उनले आदिवासी, जनजाति, महिला, मधेसी, पिछडिएका सबै वर्ग र समुदायका आवाज सबैले बोल्नुपर्ने बताए ।