© 2026
रुपन्देही ।
जिल्लाका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलद्वारा सञ्चालित जाँच अभियानका क्रममा अवैध रूपमा भित्रिँदै गरेका कस्मेटिक सामान तथा लागुऔषध बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर रुपन्देहीबाट खटिएको टोलीले आज रोहिणी गाउँपालिका-१ सेमरपानी क्षेत्रमा जाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको करिब रु सात लाख ३५० मूल्य बराबरका कस्मेटिक सामान बरामद गरेको हो । ।
सोही टोलीले आजै उक्तै क्षेत्रमा गरेको चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरेका अन्दाजी रु ४० हजार बराबरका चार वटा पाडासमेत बरामद गरेको छ । बरामद गरिएका सामान तथा पशुका सम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यसैगरी सशस्त्र प्रहरीको गुल्म हेडक्वाटरबाट खटिएको टोलीले जाँचको क्रममा बुटवल उपमहानगरपालिका-६ का ४८ वर्षीय कपिल बज्राचार्यलाई ८०२ थान ट्रामाडोल, नौ थान कफसिरपका साथ नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।