Butwal Today

साढे ७ लाख बराबरको मदिरासहित २ भारतीय पक्राउ

२२ श्रावण २०८३, शुक्रबार
अ+
अ-

पाल्पा । पाल्पाको दोभान प्रहरी चौकीले सिद्धार्थ राजमार्गमा नियमित सवारी जाँचका क्रममा करिब साढे सात लाख रुपैयाँ बराबरको मदिरासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिहीबार साँझ भारतको उत्तर प्रदेशस्थित गोरखपुरबाट पोखरातर्फ आउँदै गरेको यु।पी। ३२ एसटी ४२४६ नम्बरको कारमाथि शङ्का लागेपछि प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा गाडीमा लुकाएर ल्याइएको ७५० एमएलका १२ बोतल सिग्नेचर र ओल्ड मङ्क ब्रान्डका ६ सय ११ बोतल मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको मदिराको अनुमानित मूल्य करिब साढे सात लाख रुपैयाँ रहेको छ । घटनामा भारतको उत्तर प्रदेश राज्यको लखनउ निवासी ३७ वर्षीय चालक एमा मोदिन र गाडीमा सवार ४३ वर्षीय शिवनाथ मौर्यलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा भारतीय बजारमा नेपाली बजारभन्दा मदिराको मूल्य सस्तो हुने भएकाले पोखरामा बिक्री गर्ने उद्देश्यले अवैध रूपमा मदिरा ओसारपसार गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?