© 2026
काठमाडौँ । वस्तु तथा सेवा खरिद गर्दा बिल लिने–दिने संस्कृतिको विकास गर्न भनेर सरकारले चालु आर्थिक वर्षको बजेटबाट ल्याएको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत आज पहिलो पटक विजेता छनोट गरिएको छ। अर्थ मन्त्रालयमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तामध्येबाट विजेता छनोट गरेका हुन्।
त्यसमध्ये १–१ लाख रुपैयाँका विजेता १५ जना र १० लाख रुपैयाँ विजेता एक जना उपभोक्ता छनोट भएका छन्। साउन १ गते रूपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेको लिटिल फ्लावर इङ्लिस बोर्डिङ स्कुलमा शैक्षिक शुल्क तिरेका व्यक्तिले एक लाख पुरस्कार पाएका छन्। उक्त शुल्क तिर्ने व्यक्ति पहिचान हुने क्रममा रहेको आन्तरिक राजस्व विभागले बताएको छ। ती व्यक्तिले ३० हजार रुपैयाँ अनलाइनमार्फत स्कुलमा भुक्तानी गरेका थिए।त्यसैगरी, साउन २ गते ललितपुरको सुनाकोठीमा रहेको आरबी इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्समा अमित राईले २७० रुपैयाँको सामान किनेका थिए। उनी पनि एक लाख पुरस्कार पाउनेमा छानिए।
साउन ३ गते पोखराको विरौटामा रहेको टर्मिनल वान हिमाललयन मार्टमा ५६० रुपैयाँको सामान किनेका नरेन्द्र नामक व्यक्तिले पुरस्कार जितेका छन्। साउन ४ गतेका लागि भक्तपुरको राधेराधेमा २४० रुपैयाँमा बबल्स इन्टरटेनमेन्ट प्रालिको मुभी टिकट किनेका हिमाल अर्यालले पुरस्कार पाएका छन्।साउन ५ गतेका लागि चितवनको भेटघाट रेस्टुरेन्टमा ३०० रुपैयाँको खाजा खाएका राजकुमार नामक व्यक्तिले एक लाख पुरस्कार पाए। सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको श्री पाथिभरा देवी ट्रेडर्समा साउन ६ गते २३० रुपैयाँको सामान खरिद गरेका अर्जुन नाम गरेका व्यक्ति पुरस्कारका लागि छनौट भएको आन्तरिक राजस्व विभागले बताएको छ।
त्यस्तै, काठमाडौँको टोखामा रहेको हाम्रो सहारा सेभिङ एण्ड क्रेडिटले सञ्चालन गरेको सहकारी पसलबाट साउन ७ गते ३ हजार रुपैयाँको सामान खरिद गरेका पञ्चनारायण भन्ने व्यक्ति पनि सरकारी पुरस्कारका लागि छनोट भएका छन्। रूपन्देहीको शुभसिद्धि सप्लायर्सबाट साउन ८ गते ८ सय रुपैयाँको सामान खरिद गरेकी सपना खरेल पनि पुरस्कारको लागि छनौट भएकी छन्। दोलखाको चरिकोटमा रहेको एम्ब्रोसिया होटलमा साउन ९ गते ७३० रुपैयाँ भुक्तानी गरेका सञ्जय श्रेष्ठ पनि पुरस्कार पाउनेमा परेका छन्। त्यसैगरी, विराटनगरको शनि मन्दिर नजिकै रहेको मुस्कान मोबाइल पसलमा काम गर्ने व्यक्ति साउन १० गतेका लागि उपभोक्ता विजेता बनेका छन्।
‘साउन १० गतेका लागि पुरस्कार विजेता भएका व्यक्ति मुस्कान मोबाइल पसलका कामदार रहेछन्। उनलाई पसलको मालिकले सामान किन्न पठाएका रहेछन्। ती व्यक्तिले होलसेलमा सामान किन्दा आफ्नो वालेटबाट भुक्तानी गरेर पसलको नाममा बिल बनाएका रहेछन्। उनै व्यक्ति पुरस्कारका लागि छनोटमा परेका रहेछन्,’ विभागका एक कर्मचारीले भने। ती कर्मचारीको नाम भने भेरिफाइ हुने क्रममा रहेको ती अधिकारीले बताए।
साउन ११ गते काठमाडौँ टोखामा रहेको टोखा डेरीबाट २२५ रुपैयाँको सामान खरिद गरेकी रश्मी नाम गरेकी व्यक्ति पुरस्कारको लागि छनोट भएकी छिन्। त्यसैगरी, काठमाडौँकै लाजिम्पाटमा रहेको मेघा मार्टबाट साउन १२ गते १६० रुपैयाँको सामान खरिद गरेका प्रवीण नाम गरेका व्यक्ति पनि एक लाख पुरस्कारको लागि छनोट भएका छन्। रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको हाटबजारमा रहेको मदन स्टोरबाट साउन १३ गते ५८० रुपैयाँको सामान खरिद गरेका सन्तोष गुरूङले पनि एक लाख रुपैयाँ पुरस्कार जितेका छन्।
काठमाडौकै शान्तिनगरमा रहेको अलिप्स इकम प्रालिबाट साउन १४ गते मोबाइलमा ५ सय रुपैयाँ ब्यालेन्स रिचार्ज गरेका सुदीप तामाङ पनि पुरस्कार विजेता बनेका छन्। साउन १५ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका गोदाम लाइनमा रहेको पिपुल कलेक्सनबाट ५ सय रुपैयाँको सामान किनेकी लिना ठाडाले एक लाख रुपैयाँ पुरस्कार पाइन्।
आन्तरिक राजस्व विभागले हरेक महिनाको १ गते र १६ गते विजेता उपभोक्ता छनोट गर्ने कार्यविधि बनाएको छ। अहिले पहिलो पटक भएको र तयारीका लागि समय लागेकाले विजेता छनोट गर्न केही समय लागेको तर अर्को पटकबाट कार्यविधिमा तोकिएको समयमै विजेता छानिने विभागले बताएको छ। हरेक महिनाको १ गते अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्ममा भएको कारोबार विभागले तोकेको प्रणालीमा प्रविष्ट गर्ने उपभोक्ताबाट विजेता छना्ट हुनेछन्।त्यसैगरी, १६ गते सोही महिनाको १ गतेदेखि १५ गतेसम्म कारोबार भएको विवरण प्रणालीमा प्रविष्ट गर्ने उपभोक्तामध्येबाट विजेता छनौट हुनेछ।
साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा कारोबार गरी विभागको प्रणालीमा बिल पेस गरेका उपभोक्ता यस कार्यक्रममा सहभागी थिए।यसपटक १५ दिनको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ विजेता कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी बनेका छन्। जोशीले गत साउन ७ गते २५० रुपैयाँ पर्ने सामान अनलाइन बैंकिङमार्फत क्युआर स्क्यान गरी खरिद गर्दा १० लाख रुपैयाँ जितेका हुन्।
को–को कसरी सहभागी हुन पाउँछन्
यो उपहार कार्यक्रममा निजी प्रयोजनको लागि वस्तु तथा सेवा खरिद गर्ने अन्तिम उपभोक्ता सहभागी हुन पाउने गरी कार्यविधि बनेको छ। स्थायी लेखा नम्बर लिएका बिक्रेताबाट खरिद गरेको सामानको बिल लिएका उपभोक्ता यो कार्यक्रममा सहभागी हुन पाउँछन्। जसअनुसार, मूल्यअभिवृद्धि कर भ्याटमा दर्ता भएका वा स्थायी लेखा नम्बर पान मात्रै लिएका विक्रेताबाट खरिद गरेको सामानको बिलमार्फत उपहार कार्यक्रममा सहभागी हुन पाइन्छ। एक पटकमा १ सय रुपैयाँभन्दा बढी वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता यो उपहार कार्यक्रममा सहभागी हुन पाउँछन्। एउटा बिललाई एउटा उपहार टिकट मानिन्छ। तर, व्यावसायिक प्रयोजनका लागि खरिद भएको सामानको बिल भने उपहार योजनामा उपयोग गर्न नपाइने कार्यविधिमा उल्लेख छ। त्यसैगरी, सरकारी निकाय वा सार्वजनिक संस्थाले दिएको बिल पनि उपहार योजनामा समावेश हुनेछैन।
टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानी साधन, हवाइ टिकट खरिद गरेको बिल पनि यो उपहार योजनाको लागि योग्य हुँदैन। स्थायी लेखा नम्बर नलिएका व्यक्तिबाट खरिद गरिएको बिल पनि उपहार योजनाको लागि योग्य हुँदैनन्। कुनै पनि वस्तु वा सेवा खरिद गर्दा विद्युतीय भुक्तानी गरिएको छ भने त्यस्तो कारोबार स्वतः उपहार योजनामा सहभागी हुने भनिएको छ। यसका लागि आन्तरिक राजस्व विभागले राष्ट्र बैंकबाट विद्युतीय कारोबारको विवरण लिएर उपहार योजनामा सहभागी गराउने आन्तरिक राजस्व विभागका निर्देशक केशव रघुवंशीले बताए।
‘उपभोक्ताले कुनै पनि खरिदमा विद्युतीय भुक्तानी गरेका छन् भने राष्ट्र बैंकबाट त्यसको विवरण लिएर उपहार योजनामा सहभागी गराइन्छ। तर, कसैले नगद भुक्तानी गरेका छन् भने विभागले तयार गरेको वेबसाइटमा उक्त बिलको विवरण अद्यावधिक गर्नुपर्छ।’नगद भुक्तानी गरेर कारोबार गरेका ग्राहकलाई उपहार योजनामा सहभागी गराउनको लागि छुट्टै वेबसाइट बनाएको छ। विभागले प्राइज डट आईआरडी डट एनपी नाममा वेबसाइट बनाएको हो।