© 2026
गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलबाट सम्पर्कविहीन भएका तीन युवक सकुशल भेटिएका छन् ।
पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा आज बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले राससलाई तीनै जना सकुशल भेटिएको र उनीहरूको उद्धार भइरहेको बताए ।बुधबार बिहान ८ः०० बजेदेखि उनीहरूको मोबाइल बन्द भएपछि परिवारले खोजीका लागि प्रहरीसमक्ष अनुरोध गरेका थिए ।
जङ्गलमा बाटो बिराएर अलपत्र परेपछि उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको थियो । उनीहरूलाई मोदी खोलापारि छुमरुङवेशीमा भेटिएको घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलले जानकारी दिए ।