Butwal Today

ब्रड पिक आरोहणमा ज्यान गुमाएका पुरबहादुर गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो

२१ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका अनुभवी नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता)को पार्थिव शरीर बिहीबार काठमाडौं ल्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवार, आफन्त तथा शुभेच्छुकहरूले फूल र खादा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले विमानस्थलमै राष्ट्रिय झण्डा ओढाएर गुरुङप्रति सम्मान प्रकट गरेका छन्।

नेपाल पर्वतारोहण संघका अनुसार गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित संघको सचिवालयमा राखिनेछ। उनको अन्त्येष्टि शुक्रबार बिहान ९ बजे स्वयम्भूमा गरिने कार्यक्रम रहेको छ। साउन १४ गते ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा गुरुङसहित ६ जना नेपाली बेपत्ता भएका थिए। त्यसको भोलिपल्ट गुरुङसहित विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा, किलु पेम्बा शेर्पा र नीमा शेर्पाको पार्थिव शरीर फेला परेको थियो। पहिरोमा हराएकामध्ये अझै तीन जनाको अवस्था अज्ञात छ।

गोरखाको लाप्राकका स्थायी बासिन्दा गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक सफल आरोहण गरेका थिए। साथै, आठ हजार मिटरभन्दा अग्ला हिमालहरू २८ पटक सफलतापूर्वक आरोहण गरेर नेपाली पर्वतारोहण क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थिए।गुरुङ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष तथा नेपाल पर्वतारोहण संघको मनाङ पर्वतारोहण स्कुल समितिका सदस्य समेत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?