Butwal Today

पाँच महिनापछि नेपाल फर्किंदै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

२१ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । उपचारका लागि विदेशमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि साउन २६ गते स्वदेश फर्किने भएका छन्। कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवाको स्वदेश फर्किने कार्यक्रम तय भइसकेको छ। उनले साउन २६ गते नेपाल फर्किने जानकारी प्राप्त भएको बताए।

देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यसबेला भारत भ्रमणमा रहेकी उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि उपचारका लागि सिंगापुर पुगेकी थिइन्। त्यसपछि दुवै जना थप उपचारका लागि हङकङ गएको जानकारी दिइएको थियो। गत भदौमा जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुनुका साथै देउवा दम्पत्तिमाथि आक्रमण भएको थियो। त्यसपछि केही समय नेपालमै उपचार गराएर उनीहरू थप उपचारका लागि विदेश गएका थिए। उपचारपछि फलोअपका लागि पुनः फागुन १३ गते सिंगापुर गएको बताइएको थियो।

देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको छ। उक्त भेलाका लागि कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ। राष्ट्रिय भेलाअघि देउवाको स्वदेश फिर्ती हुन लागेको भए पनि उनी भेलामा प्रत्यक्ष सहभागी हुने वा नहुनेबारे भने हालसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?