© 2026
अर्घाखाँची । देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव भएको समयमा अर्घाखाँचीको शितगंगा नगरपालिकाले उपभोक्ताको हितलाई केन्द्रमा राख्दै ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित, पारदर्शी र सहज बनाउन पहल थालेको छ । सम्भावित कृत्रिम अभाव हुन नदिन, बजारलाई व्यवस्थित बनाउन र उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले नगरपालिकाले ग्यास व्यवसायी, प्रशासन, सुरक्षा निकाय तथा सरोकारवालासँग विस्तृत छलफल कार्यक्रम आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको समन्वयमा शितगंगा नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले एलपी ग्यास अत्यावश्यक उपभोग्य वस्तु भएकाले यसको आपूर्ति कुनै पनि अवस्थामा प्रभावित हुन नहुने स्पष्ट पारे। उनले प्रशासन व्यवसायीका समस्या सुन्न तयार रहेको उल्लेख गर्दै कानुनअनुसार व्यवसाय सञ्चालन गर्न सबैलाई आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी सुवेदीले प्रत्येक पसलमा मूल्यसूची अनिवार्य राख्नुपर्ने, गुणस्तरीय वस्तु प्रतिस्पर्धी मूल्यमा बिक्री गर्नुपर्ने तथा व्यवसायिक नैतिकता र उपभोक्ता अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिए । ग्यास वितरणलाई थप व्यवस्थित बनाउन प्रत्येक सिलिण्डरको खरिद तथा बिक्रीको अभिलेख राख्न, प्राप्त ग्यासको कम्पनी, सिलिण्डर नम्बर र बिक्री विवरण नियमित रूपमा रेकर्ड गर्न तथा अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न उनले व्यवसायीलाई आग्रह गरे ।
नगर प्रमुख छविलाल पौडेलले ग्यास आपूर्तिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सबै पक्षबीच समन्वय अपरिहार्य रहेको बताए । उपभोक्ताले सहज, सुरक्षित र उचित मूल्यमा ग्यास प्राप्त गर्ने वातावरण निर्माण नगरपालिकाको प्राथमिकता भएको नगर प्रमुख पौडेलले उल्लेख गरे ।