Butwal Today

दुग्ध सहकारी अनुदान प्रकरणमा नगरप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२१ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुमपश्चिमको आठबीसकोट दुग्ध सहकारी संस्थालाई कार्यविधिविपरीत करोडौँ रुपैयाँ अनुदान उपलब्ध गराई राज्यलाई गैरकानुनी हानि पुर्याएको अभियोगमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अनधिकृत रूपमा उक्त सहकारीलाई गैरकानुनी लाभ पुर्याएको आरोपमा आठबीसकोट नगरपालिकाका प्रमुखसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आठबीसकोट नगरपालिका–९ का जनक बटालाले आठबीसकोट दुग्ध सहकारीका नाममा डेरी सञ्चालन गर्ने भन्दै नगरपालिकाबाट लाखौँ रुपैयाँ प्राप्त गरे पनि दुई वर्षसम्म डेरी सञ्चालन नगरेको पाइएको छ । सहकारीका नाममा प्राप्त सरकारी सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्ने उजुरीपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुमपश्चिमबाट आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रममा गम्भीर अनियमितता भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशको दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ विपरीत प्रस्तावहरूको वस्तुनिष्ठ मूल्याङ्कन नगरी बदिनयत राखिएको स्पष्ट भएको छ । अनुदान प्राप्त गर्ने योग्यता नै नपुगेको आठबीसकोट दुग्ध सहकारी संस्थासँग सम्झौता गरी चिस्यान केन्द्र निर्माणका लागि रु ९१ लाख १७ हजार ८७३ अनुदान उपलब्ध गराइएको आयोगको आरोप छ ।

त्यसैगरी, चिस्यान केन्द्र स्थापना भएको दुई वर्षसम्म पनि सञ्चालनमा नआएको सम्बन्धित निकायलाई जानकारी हुँदाहुँदै आठबीसकोट नगरपालिकाले सोही सहकारीलाई थप रु ८० लाख २३ हजार ५१ बराबरको अनुदानमा एउटा मिल्क ट्याङ्कर र दुईवटा सिङ्गल क्याब गाडी उपलब्ध गराइएको थियो । सवारीसाधन समेत प्रयोगविहीन अवस्थामा रहेको, नेपाल सरकार, कर्णाली प्रदेश सरकार तथा आठबीसकोट नगरपालिकाको अनुदानको दुरुपयोग भएको आयोगको निष्कर्ष छ ।

आयोगले आठबीसकोट नगरपालिका नगरप्रमुख रवि केसी र प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूमाथि रु ८० लाख २३ हजार ५१ बिगो मागदाबी गरिएको छ । उनीहरुलाई कैद, जरिवाना, बिगो असुलउपर तथा सार्वजनिक पदमा रहेका व्यक्तिका हकमा थप सजायको माग गरिएको आयोगले जनाएको छ । त्यसैगरी पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुमपश्चिमका तत्कालीन पशु विकास अधिकृत सुवर्णसिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत तथा तत्कालीन निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्काविरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तै, लेखा अधिकृत यमबहादुर पुन तथा कृषि विकास कार्यालय रूकुमपश्चिमका कृषि अधिकृत मीनबहादुर केसीविरुद्ध रु ९१ लाख १७ हजार ८७३ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ । यस्तै, आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय, सचिव गोविन्द प्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेलविरुद्ध मुख्य कसुरदारबाट प्राप्त गैरकानुनी लाभका मतियार भएको अभियोगमा मुद्दा दायर गरिएको छ ।

आयोगले उनीहरूलाई चिस्यान केन्द्र निर्माणतर्फको रु ९१ लाख १७ हजार ८७३ तथा गाडी खरिदतर्फको रु ८० लाख २३ हजार ५१ बिगो कायम गरी मुख्य कसुरदारसरह कैद, जरिवाना र बिगो असुलउपरको सजाय माग गरेको छ । आयोगले उक्त प्रकरणमा संलग्न सबै प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?