© 2026
दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र राजनीतिक स्थायित्व अहिलेको आवश्यकता भएको बताउँदै राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि हुन नहुनेमा जोड दिएका छन् ।
प्रेस चौतारीले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बितेका तीन दशकमा देशले भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्नुका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी निर्वाचन प्रणालीलगायत विविध क्षेत्रमा उपलब्धि हासिल गरेको बताउँदै प्राप्त उपलब्धिको रक्षा हुनुपर्ने बताए ।
देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउनु अपरिहार्य भएको विचार व्यक्त गर्दै महासचिव पोखरेलले राष्ट्रको उन्नतिका निम्ति वर्तमान सरकारले सार्वजनिक गरेका १०० बुँदे प्रतिबद्धताबाट जनतामा आशा पलाएको बताए ।
महासचिव पोखरेलले सरकार र राजनीतिक दलहरूले नयाँ पुस्ताको अपेक्षाअनुसार आफूलाई निरन्तर सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । “हामी पनि आफ्नो पार्टीलाई सुधार गर्दै अघि बढ्ने छौँ,” उनले भने ।