Butwal Today

छलछाम होइन, ठोस काम गर

२० श्रावण २०८३, बुधबार
अ+
अ-

सरकार र आम जनताका आकाङ्क्षाहरूमा मेल खायो भने सरकार बलियो हुन्छ । सरकार बलियो भयो भने त्यो सरकार टिकाउ हुन्छ । लामो समयसम्म सरकार टिकाउ भयो भने त्यो सरकारले धेरै काम गर्ने मौका पाउँछ ।

त्यसै कारण आमजनता र सरकारकाबीच सामाञ्जस्यता अपरिहार्य छ । सरकार र जनताका बिचमा तादाम्यता स्थापित हुन सकेन भने दुई शक्तिका बीच टकराउको स्थिति आउने अवस्था सिर्जना हुन्छ । द्वन्द्वको अवस्था जन्मिन्छ ।

जनता सरकारको विरुद्ध प्रदर्शनमा उत्रिन्छन् । सडक आन्दोलन, जुलुस प्रदर्शन, बन्द हडताल जनताका तर्फबाट अवरोध, लाठी चार्ज, अश्रुग्याँस, पानीका फोहोरा, गोली आदी जे पनि हुनसक्छ । यी दुवै तरिकाहरू लोकतन्त्रका निम्ति गतिला नमुना होइनन् । लोकतन्त्रका घातक पक्ष हुन, हानिकारक तत्त्वहरू हुन । सरकार चलाउनेहरूले यस कुरामा हमेसा ध्यान दिनुपर्दछ ।

सत्तामा बस्नेहरू यदि यो सवालबाट विमुख भए भने उनीहरूको सत्ता तासको महलझै गल्र्याम्म गुर्लुम्म ढल्छ । यस कुरामा बर्तमान सरकारको गंभीर ध्यानाकर्षण हुनुपर्ने हो तर उचित ध्यान गएजस्तो लागेन ।

गत असार २५ गते सुदूर पश्चिम मुगुबाट आएका भक्तपुरमा डेरा गरी बस्ने पठाउ चालक गणेश नेपाली नामका २५ वर्षीय युवाले काठमाडौँको त्रिपुरेश्वरमा आफ्नो शरीरमा आफै पेट्रोल खनाएर आत्मदाह गरेपछि जलेर गम्भिर अवस्थामा अस्पतालमा उनको प्राण गएको समाचार बाहिर आयो ।

उनलाई नगर प्रहरीले उनको सामान्य गल्तीमा रु १० हजार दण्ड तोकेकोमा सो दण्डको प्रतिकार गर्दा नगर प्रहरीबाट थप्पड र गाली खान हतोत्साहित भई त्यसरी मृत्युलाइ रोजेको कारुणिक समाचारले देशका होनहार युवाहरू आज कस्तो दुरावस्थामा बाँच्न विवस छन् भन्ने जनाउँछ । त्यति मात्र होइन, यसको केही दिन अघि पाटन जिल्लामा र तराइको सर्लाहीतिर पनि यस्तै आत्मदाहबाट युवकले प्राण त्यागेको समाचार आएको थियो । तत्पश्चात पुनः काठमाण्डौमा अर्को युवकले आत्मदाह गरे । एकातिर स्थिती यस्तो छ भने अर्कोतिर राजनीतिक दल तथा व्यक्तिहरू यही आगोमा आ– आफ्नो रोटी सेक्न तल्लीन छन् ।

सरकारमाथि समस्याको उचित समाधानको निम्ती दवावको वातावरण बनाउनुभन्दा केवल गाली गलौज, निन्दा र सडक तताउने बाहेक अरू केही देखिदैन । सरकारको यस्तै होच्याउने र तल खसाल्ने र निन्दाको खेती गरेपछी आफ्नो दायित्व पूरा हुन्छ भन्ने सोचले ग्रस्त बनेका छन् ।

सरकारको बिरुद्धमा व्यापक हो हल्ला र अफवाह फैलाएपछि जनतालाई सरकारको विरुद्ध उपयोग गर्न सकिन्छ । आफ्नो सत्ता हत्याउन सकियो भने मोजमस्ती गर्न पाइन्छ भन्ने उनीहरूको नियत हो । सरकार प्रतिपक्ष दुबैथरिका रवैयाहरू जनताका दुःख दर्दहरू बुझेर घाउमा मलमपट्टी बाँधिदिने किसिमका नभएर घाउलाई झन पकाउने खालका छन् ।

यसरी त राष्ट्रका समस्याहरू कहिल्यै समाधान हुदैनन् । जनताका दुःख कष्टहरू कहिल्यै निर्मूल बन्दैनन । आज देश अबिराम रूपले खस्किदै छ । जुनसुकै सरकार आएपनि उनीहरूले आफ्नो प्रचारबाजी बाहेक ठोस काम केही गरेको देखिएन । जनताका पीरमर्काहरू दिन दुगुना रात चौगुना बढ्दै छन् । हरेक कुरामा हप्तैपिच्छे मूल्यबृद्धि भईरहेको छ ।

आम्दानीका बाटाहरू बन्द छन् । अघिल्ला सरकारले बन्द गराएका ठूला ठूला कलकारखानहरू यो सरकारले धमाधम खोल्ने छ र धेरैलाई रोजगाारी दिने छ भन्ने सबैमा ठूलो आशा जागेको थियो । अहिले आएर त्यो आशा निराशामा परिणत हुदैछ ।

रवि लामिछानेका आकर्षक शब्दावलीले भरिएका ठूला ठूला भाषण, बालेन शाहप्रति जागेको नयाँ भरोसा, विद्वान अर्थशास्त्री कहलिएका स्वर्णीम वाग्ले लगायत धेरै सक्षम मानिएका युवायुवतीहरूको देवत्वकरणले आकर्षित बनेका र पुराना भ्रष्टहरूका निन्दनीय हर्कतहरूले आजित बनेका जनताले नयाँ सरकार आयो भने अवश्य नै हाम्रा बेदनाहरू सुनिदिने छ भन्ने विश्वासको भरमा यो सरकारलाई एकलौटी सरकार बनाएर काम गर्ने अपूर्व अवसर प्रदान गरेका हुन तर सोचेजस्तो राम्रो परिणाम आउने संभावना देखिएन ।

अहिले त स्थिति कहाँसम्म बिग्रिएको छ भने तिब्बती शरणार्थीहरूका धर्मगुरु दलाई लामाको जन्मोत्सवको निहुमा यही सरकारले चिन बिरोधी पश्चिमा शक्तिहरूलाई काठमाण्डौंमै एकै ठाउँ जम्मा हुने मौका दिएर नेपाललाई चिन बिरोधीको रूपमा चलखेल गर्न सजिलो बनाइदिने वातावरण तयार गरेको देखियो ।

यस किसिमको स्थितीमा आगामी दिनहरूमा छिमेकी मित्रराष्ट्र चिनले कस्तो आँखाले हेर्ला प्रश्न गंभीर छ । चाहे सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू माथि गरिएको व्यवहार होस, चाहे सडक पेटीमा मकै पोल्ने र चिया तरकारी बेचेर गुजारा चलाएका गरिबहरू माथि कष्ट दिन गरिएको दुव्र्यवहार अथवा घर भत्काइदिएर होल्डिङ्ग सेन्टरमा राखिएकाहरूलाई अहिले आएर पच्चिस पच्चिस हजार हातमा थमाइदिएर जता जाने हो जाओ भन्ने व्यवहार होस ।

यस किसिमको स्थितिमा कसरी दुःखी जनताको भविष्यप्रति आशा जाग्ला ? जताततैबाट निरास बनेका जनताले बाँच्न व्यर्थ ठानेर धमाधम यस्तै आत्मदाह गर्दै मृत्युवरण गर्न थाले भने यहाँको परिणम भोली के होला ? यस्तो अवस्था सिर्जना भयो भने देशमा कसरी विकास होला ? तिन महिनाअघि जनतामा जुन उत्साह थियो, त्यो उत्साह अहिले क्रमशः निराशाको अन्धकारमा बिलुप्त हुदै जान थालेको छ ।

यस किसिमको परिस्थिति बुझ्न नसकेर हो या सरकार जनमुखी हुन नचाहेर हो, अवस्था अत्यन्त गम्भिर बन्दै गएको छ । यति मात्र होइन सत्तासिनहरूहरूमा पनि रवि गुट र बालेन गुटकाबीच सत्तामोहका लागि द्वन्द्व बढ्दै गैरहेको छ ।

एकातिर जनआकांक्षा र वास्तविकताबीचको द्वन्द्व, अर्कोतिर सत्तासिनहरूमै शक्ति बाँडफाँड निम्ती सतहमा आइरहेको द्वन्द्व तथा नजिकको छिमेकीलाई मर्का पर्ने गतिविधि बढाउन टाढाको नातेदारलाई डाकेर अवाञ्छित गतिविधी गर्न दिएर आम जनता सत्तासिनहरूकाबीचको द्वन्द्व यस परिघटनाले राष्ट्रको स्वतन्त्र अस्तित्वमाथि नै भयानक संकट निम्तिन बेर छैन् ।

तसर्थ आम जनतामा अझै पनि पुरै विश्वास टुटिनसकेको र बिपक्षीहरूका छिर्के दाउहरू पनि अन्त्य नभैसकेकोले ढाँटढुट र छलछाम त्यागेर ठोस काम गर सरकार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?