Butwal Today

प्राविधिक विहीन बन्दै कृषि ज्ञान केन्द्र

२० श्रावण २०८३, बुधबार
अ+
अ-

पाल्पा ।

गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रको बजेट तथा कार्यक्रम बढेको भए पनि प्राविधिक जनशक्ति अभावका कारण कार्यान्वयनमा चुनौती देखिएको छ ।

प्रदेश सरकारले कृषिका कार्यक्रम कार्यान्वयनलाई सहज बनाउन नियुक्त गरेका कृषि प्राविधिकहरूको करार अवधि गत असार मसान्तपछि नथपिएको हुदाँ बजेट तथा कार्यक्रम कार्यान्वयनमा समस्या उत्पन्न भएको हो ।

कृषि ज्ञान केन्द्रअन्तर्गत स्थानीय क्षेत्रमा कार्यरत कृषि प्राविधिकहरूलाई नयाँ आर्थिक वर्षदेखि प्रदेश सरकारले निरन्तरता नदिँदा ग्रामीण बस्ती तथा स्थानीय तहमा कृषि सेवा प्रवाह गर्न कठिन भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख अमिता पाण्डेले बताइन् ।

उनका अनुसार कृषि ज्ञान केन्द्र र स्थानीय तहमा कार्यरत १३ जना कृषि प्राविधिकलाई एकैसाथ बिदाइ गरिएपछि कार्यालय प्रमुखसहित अब कार्यालयमा तीन जना मात्र प्राविधिक कर्मचारी बाँकी रहेका छन् ।

हाल जिल्लाको पूर्वी क्षेत्रमा धानबालीमा खपटे किराको प्रकोप देखिएको छ । अन्य क्षेत्रमा पनि बालीमा रोग वा किराको प्रकोप देखिए तत्काल प्राविधिक खटाउन जनशक्ति अभाव भएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले कार्यालयको स्वीकृत दरबन्दीअनुसार आवश्यक प्राविधिक पदहरू लामो समयदेखि पूर्ति नगरेको कार्यालयको भनाइ छ । बागवानी विकास अधिकृत र बाली संरक्षण अधिकृतको दरबन्दी वर्षौंदेखि रिक्त छ ।

जिल्लाका १० वटा स्थानीय तहका ८१ वडालाई कार्यक्षेत्र बनाएको कृषि ज्ञान केन्द्रमा संघीय संरचनापछि आवश्यक जनशक्ति पर्याप्त नहुँदा सेवा प्रवाह प्रभावित हुँदै आएको छ ।

यसअघि प्रदेश सरकारले कृषि कार्यक्रम कार्यान्वयनमा स्थानीय तहसँग समन्वय गर्न करारमा कृषि प्राविधिक नियुक्त गरेको थियो । तर उनीहरूको करार अवधि नथपिएपछि स्थानीय तहहरू समेत समस्यामा परेका छन् ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले कृषि प्राविधिकहरूको स्थानीय तहमा प्रभावकारिताबारे अध्ययन नै नगरी करार अवधि थप नगर्ने निर्णयले स्थानीय तहलाई अपाङ्गजस्तै बनाएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?