© 2026
काठमान्डौँ ।
प्रतिसेकेन्ड करिब २.४३ किलोमिटरको गतिमा अन्तरिक्षमा घुमिरहेको स्पेसएक्स रकेटको एउटा बेवारिसे टुक्रा चन्द्रमामा ठोक्किने भएको छ ।
यो पाँच तलाको भवनजत्रो आकार र कम्तीमा ४,००० किलोग्राम तौल भएको फाल्कन ९ अन्तरिक्षयानको माथिल्लो भाग हो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो ठक्कर करिब साढे १२ बजे हुने अनुमान गरिएको छ। विशेषज्ञहरूका अनुसार यो घटना पृथ्वीबाट नाङ्गो आँखाले भने देखिने छैन ।
अत्याधुनिक टेलिस्कोपमा पहुँच भएका मानिसहरूले भने चन्द्रमाको सतहमा चम्किलो प्रकाश फैलिएको देख्न सक्नेछन् । यो घटनालाई पृथ्वीका लागि समेत कुनै खतरा मानिएको छैन । वैज्ञानिकहरूले यसलाई कुनै वस्तु चन्द्रमामा ठोक्किँदा के हुन्छ भन्नेबारे अध्ययन गर्ने एउटा अवसरका रूपमा लिएका छन् ।
यो कथा गत वर्षको जनवरीमा सुरु भएको थियो, जब दुईवटा लुनार ल्यान्डर बोकेर फाल्कन ९ रकेट फ्लोरिडाबाट अन्तरिक्षतर्फ उडेको थियो । दुवै ल्यान्डरलाई पृथ्वीको कक्षाबाट बाहिर निकालेर चन्द्रमाको बाटोमा पठाउन रकेटको माथिल्लो भागले गति प्रदान गर्नुपर्ने थियो र यसले सफलता हासिल गर्यो । तर, प्रयोग भइसकेको त्यो माथिल्लो भाग चन्द्रमासम्म पुग्ने र फर्किने लामो अण्डाकार कक्षामा अलपत्र रूपमा तैरिरह्यो ।
पछिल्लो १८ महिनामा पृथ्वी, चन्द्रमा र सूर्यको हल्का गुरुत्वाकर्षण बलका साथै घामको किरणको सामान्य धक्काले समेत यसको बाटो बिस्तारै बदलियो । यस वस्तुको निरन्तर निगरानी गरिरहेका खगोलविद्हरूले अन्ततः तिनै साना धक्काहरूले गर्दा यो दिनप्रतिदिन गति बढाउँदै चन्द्रमासँग ठुलो ठक्करका लागि अघि बढेको पत्ता लगाएका हुन् ।
अलपत्र अवस्थामा रहेको स्पेसएक्स रकेट र चन्द्रमाबिचको यो ठक्कर पृथ्वीसहित कतै पनि खतरनाक नहुने विशेषज्ञहरूको भनाइ छ । नासाका प्रवक्ता जिमी रसेलले नासाले वैज्ञानिक उद्देश्यका लागि प्रभाव क्षेत्रको अवलोकन जारी राख्ने बताएका छन् । उनले भने, ‘पृथ्वीका लागि कुनै खतरा छैन ।’
नासाका वैज्ञानिकहरू यस घटनाबाट चन्द्रमासम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने र अन्तरिक्षमा रहेका वस्तुहरूलाई पछ्याउने प्रविधिलाई अझ परिष्कृत बनाउने योजनामा छन् । क्याम्ब्रिज विश्वविद्यालयका सार्वजनिक खगोलविद् डा। म्याट बोथवेलले भने, ‘अत्यन्तै ठूलो वस्तु चन्द्रमामा ठोक्किँदै छ । यो अलिकति पनि खतरनाक छैन, हामी यस दृश्यलाई अवलोकन मात्र गर्न सक्छौँ ।’
–न्युज एजेन्सी