© 2026
काठमान्डौँ ।
समाज कल्याण परिषद्ले नेपालमा करिब ६० हजार गैरसरकारी संस्था (एनजीओ) दर्ता रहे पनि तीमध्ये करिब १० हजार मात्रै सक्रिय रहेको जनाएको छ । परिषद्का सदस्य सचिव चक्र बुढाले प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार नेपालमा करिब २५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) दर्ता रहेका छन् । तीमध्ये १३६ वटा मात्रै हाल सक्रिय रूपमा सञ्चालनमा छन् ।
‘करिब ६० हजार एनजीओ छन् । यसमध्ये १० हजारले काम गरिरहेका छन् । २५० आईएनजीओ छन् । १३६ वटा सक्रिय छन्,’ सदस्य सचिव बुढाले समितिको बैठकमा जानकारी दिए ।
बैठकमा एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको तथा राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेको विषयमा पनि छलफल भएको थियो ।
समितिका सदस्य यज्ञमणि न्यौपानेले उक्त विषयमा छलफलको माग गर्दै निवेदन दिएपछि यी संस्थाको कानुनी हैसियतबारे प्रश्न उठेको थियो । त्यसक्रममा सदस्य सचिव बुढाले नेपालमा दर्ता भएका एनजीओ तथा आईएनजीओको अवस्था सार्वजनिक गरेका हुन् ।
उनका अनुसार एमनेस्टी इन्टरनेशनलको नवीकरण अवधि सकिएको छ र हाल नवीकरण प्रक्रियामा रहेको छ । इन्टरनेशनल कमिसन अफ जुरिस्ट्सको नवीकरण अवधि २०२७ सम्म कायम छ । ह्युम्यान राइट्स वाचले २०६४ सालमा स्वीकृति लिए पनि त्यसयता न त स्वीकृति नवीकरण गरेको छ, न नयाँ स्वीकृति लिएको छ ।