© 2026
काठमान्डौँ ।
महोत्तरीको गौशाला नगरपालिका–९, डुमरवानास्थित भित्री सडकमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
मङ्गलबार बिहान करिब ७ः३० बजे मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ का ४० वर्षीय विजय भुजेल, गौशाला नगरपालिका–११ का १० वर्षीय प्रतीक कुशवाहा, ८ वर्षीय प्रज्ज्वल कुशवाहा, १३ वर्षीया प्रिती कुशवाहा, गौशाला नगरपालिका–९ का १३ वर्षीय उमर शेख तथा गौशाला नगरपालिका–११ का ६ वर्षीय आदर्श कुशवाहा घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको खुट्टा, नाक, कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये विजय भुजेल र उमर शेखलाई थप उपचारका लागि बीके अस्पताल, गौशाला पठाइएको छ भने अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गोलेले बताए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए ।