Butwal Today

प्रतिनिधिसभा: ‘तराई–मधेसमा पानी नपरेर खेत बाँझै भयो’

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले तराई–मधेसका जिल्लामा पानी नपरेर समस्या भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रमोहन यादवले तराई–मधेसमा महिनौँदेखि वर्षा नभएको बताउँदै साउन सकिन लाग्दा पनि खेत बाँझै रहेको सुनाए ।

सांसद जगतप्रसाद जोशीले भारतले नेपालको सहमतिविना निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको उल्लेख गर्दै कैलाशपुरीमा पनि यस्तै भएको बताए ।

सांसद जगदीश खरेल (ललितपुर) ले सुनसरी र सिराहको घटनामा सरकारले सुझबुझपूर्ण समाधान गरेको र यस विषयमा विपक्षी दलले पनि साथ दिएको बताए ।

सांसद जनकराज गिरीले सांसदहरूले उठाएका विषयमा के काम भयो भनी प्रश्न गरे । सांसद जनकसिंह धामीले बेलौरी भन्सार स्तरोन्नति गर्न, सामाजिक सद्भाव कायम राख्न र जग्गा नभएकालाई पूजा दिनुपर्ने माग गरे ।

सांसद जयपति रोकायाले हुम्लामा बाढीले जनश्रमदानबाट निर्माण भएको पुल र बाटो बगाएकाले बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरे ।

सांसद झवीलाल डुम्रेले असार ३२ गते गल्याङ नगरपालिका–६ मा धनबहादुर थापाको गोठ भत्किएर मृत्यु भएको तथा बाली नगरपालिकामा मोटरसाइकल चलाइरहेका समाजसेवीलाई अर्को सवारीले ठक्कर दिँदा विनोद अर्यालको निधन भएको उल्लेख गर्दै यस्ता घटना नहुने वातावरण बनाउन माग गरे ।

सांसद टुकाभद्र हमालले निर्मल पुर्जाले नेपाली युवालाई प्रेरणा दिएकाले पर्वतारोहणका क्रममा निधन भएका पुर्जाका विषयमा उपयुक्त निर्णय गर्न माग गरे । सांसद ठाकुरसिंह थारुले खेतमा मल नभएको, भान्सामा ग्यास नभएको र गर्मीमा फ्यान चलाउन बत्तीसमेत नभएको भन्दै गुनासो गरे ।

सांसद तारा विश्वकर्माले अव्यवस्थित प्लटिङ नरोके विपद् निम्तिन सक्ने भएकाले सचेत गराउन माग गरे । सांसद डा तोसिमा कार्कीले कान्ति लोकपथको मार्ग परिवर्तन गर्दा स्थानीयवासी समस्यामा परेकाले उक्त निर्णय खारेज गर्न माग गरिन् ।

सांसद तैफिक अहमद खानले रूपन्देहीको आफ्नो क्षेत्रमा शुद्ध खानेपानीको व्यवस्था गर्न माग गरे । त्यस क्षेत्रका भूमिहीनको समस्या समाधान गर्न पनि उनले माग गरे ।

सांसद दीपककुमार साह सुनसरीले देवानगञ्ज घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सांसद देवराज पाठकले मौसमसम्बन्धी पूर्वानुमान गर्ने व्यवस्था प्रभावकारी बनाउन माग गरे । सांसद धनञ्जय रेग्मीले स्याङ्जाको सामुदायिक विद्युत् प्रणाली व्यवस्थित गर्न माग गरे पनि अझै काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद नरेन्द्रकुमार केरुङले पाँचथरमा मात्र पाँच हजार ग्यास सिलिण्डर आवश्यक भए पनि उपलब्ध हुन नसकेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?