© 2026
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले विधेयकमा आधुनिक पदमार्ग, आरोग्य पर्यटन, सांस्कृतिक र साहसिक पर्यटनलगायतका बहु आयामिक विषयवस्तुलाई समेटिनुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री पौडेलले तीन वर्षअघि ड्राफ्ट भएको पर्यटन विधेयक राष्ट्रियसभामा पेस भई प्रतिनिधिसभामा आएको भए पनि त्यसमा विस्तृत संशोधन जरुरी रहेको बताए । उनले भने, “पर्यटनको प्रशस्त सम्भावना बोकेको देशलाई व्यवस्थित बनाउने बलियो कानुन आवश्यक छ । विधेयकमाथि सरोकारवालाबिच छलफल र सांसदबाट आवश्यक सुझाव चाहिन्छ ।”
समितिमा उक्त विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले सरोकारवाला, पर्यटन क्षेत्रका जानकार, व्यवसायी र सम्बन्धित सङ्घसंस्थासँग छलफल गरी विधेयकलाई गुणस्तरीय तुल्याउन सुझाव दिए ।
त्यस अवसरमा समिति सभापति सुम्नीमा उदासले तीन तहको सरकारको साझा अधिकारसँग जोडिएको पर्यटन विधेयक निर्माणदेखि कार्यान्वयनसम्मको अवस्थालाई मध्यनजर गरी संशोधन गर्नुपर्ने बताइन् । सांसद जगदीश खरेलले उक्त विधेयक देशको विकास र समृद्धिसँग जोडिएकाले यसलाई जति सक्दो छिटो कानुनी रूप दिनुपर्ने बताए ।
सांसद गणेशबहादुर विश्वकर्माले पर्यटन क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षसमेत समेट्ने गरी विधेयक ल्याइनुपर्ने धारणा राखे । सांसद भूमिका लिम्बू सुब्बाले विधेयकमा बहु सांस्कृतिक सङ्ग्रहालयको अवधारणा समेट्न सुझाव दिइन् ।
सांसद अनुश्का श्रेष्ठले विधेयकको सैद्धान्तिक छलफलकै चरणमा सरोकारवालाबिच पर्याप्त छलफल चलाएर सुझाव लिन सल्लाह दिइन् । प्रतिनिधिसभा सदस्य वीना गुरुङ, डा. अर्जुनकुमार कार्की, श्रीधर पोखरेललगायतले युग सुहाउँदो पर्यटन क्षेत्रको विकास र विस्तारका लागि विधेयकलाई प्रभावकारी र गुणस्तरीय तुल्याउन आवश्यक रहेको धारणा राखे ।