© 2026
काठमाडौं। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा वर्षा अभाव, ग्यास र मलको संकट, डुबान, खानेपानी, पूर्वाधार तथा विपद् व्यवस्थापनलगायत जनजीविकासँग जोडिएका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद चन्द्रमोहन यादवले तराई–मधेसमा महिनौँदेखि वर्षा नभएकाले साउन सकिन लाग्दा पनि खेत बाँझै रहेको बताए। ठाकुरसिंह थारुले खेतमा मल, भान्सामा ग्यास र विद्युत् अभावले किसान तथा सर्वसाधारण समस्यामा परेको गुनासो गरे।जगतप्रसाद जोशीले भारतले नेपालको सहमतिबिना बनाएको बाँधका कारण नेपाली भूमि डुबानमा परेको उल्लेख गर्दै समाधानको माग गरे। जयपति रोकायाले हुम्लामा बाढीले पुल र सडक बगाएकाले जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न आग्रह गरे।
डा. तोसिमा कार्कीले कान्ति लोकपथको मार्ग परिवर्तन गर्ने निर्णय खारेज गर्न माग गरिन् भने तारा विश्वकर्माले अव्यवस्थित प्लटिङ रोक्न सरकारलाई आग्रह गरिन्।तैफिक अहमद खानले रूपन्देहीमा शुद्ध खानेपानी र भूमिहीनको समस्या समाधान गर्न माग गरे। नरेन्द्रकुमार केरुङले पाँचथरमा ग्यास सिलिन्डरको अभाव रहेको गुनासो गरे भने धनञ्जय रेग्मीले स्याङ्जाको सामुदायिक विद्युत् प्रणाली व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए।
यस्तै, दीपककुमार साहले सुनसरीको देवानगञ्ज घटनाको प्रतिवेदन सार्वजनिक गर्न, देवराज पाठकले मौसम पूर्वानुमान प्रणाली प्रभावकारी बनाउन तथा टुकाभद्र हमालले पर्वतारोही निम्सदाइ निर्मल पूर्जाका योगदानको सम्मानमा उपयुक्त निर्णय गर्न सरकारसँग माग गरेका छन्।बैठकमा सांसदहरूले उठाएका विषयमा सरकारले प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिएका छन्।