© 2026
काठमान्डौँ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तापक्षले आफ्नै कार्यकर्तालाई सडकमा उतारेर हिंसा मच्चाउने र त्यसको दोष विपक्षीमाथि थोपर्ने गरेको आरोप लगाएका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सत्तापक्षको पछिल्लो रणनीतिमाथि व्यङ्ग्य गरेका हुन् ।
उनले आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने र त्यसपछि हिंसाको दोष अरूमाथि थोपर्ने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् ।
पोखरेलले फेसबुकमा लेखेका छन्, ‘आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने, यो जुक्ति गजबको छैन त ?’
पछिल्लो समय देशमा भइरहेका विभिन्न आन्दोलन, त्यसक्रममा भएका झडप तथा सरकारी पक्षसँग भएका सम्झौताप्रति संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सत्तासीन पक्षले योजनाबद्ध रूपमा परिस्थिति भड्काएर त्यसको राजनीतिक दोष विपक्षी दलमाथि थोपर्ने प्रयास गरिरहेको आरोप पनि उनले लगाएका छन् ।